नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने ४ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 02 | 04:59 pm 1970

बर्दिया, कात्तिक १६: ओरियन्स ग्लोबल मार्केटिङ प्रालि नामक बहुराष्ट्रिय कम्पनीमार्फत नेटवर्किङ व्यवसायको नाममा बर्दिया, बाँके, कैलाली, कंचनपुर, दाङ लगायतका जिल्लाहरुमा ठगी गर्ने कार्यमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बर्दिया गुलरिया नगरपालिका ४ का बिबेक थारु, हिमाल भन्ने प्रजय चौधरी, बारबर्दिया नगरपालिका ७ का २० वर्षीय दिपक चौधरी र राजापुर नगरपालिका ३ का आशा थारु रहेका छन् ।

उक्त कम्पनीमा प्रबेश गर्नको लागि १ हजार रुपैयाँको सदस्यता लिनुपर्ने, सदस्यता लिएकाहरुलाई ४ दिनको तालिम दिइने र तालिम पश्चात ती सदस्यहरुले अनिवार्य रुपमा २ जना सदस्य बनाउनुपर्ने, सदस्य बनिसकेपछि १० देखि २० प्रतिशतसम्म छुटमा औषधी पाउने, नयाँ सदस्य थपेपछि बोनस पाउने, डाईमण्ड बढ्दै गएपछि रिवार्ड पाउने र पद बढ्दै गएपछि प्रोडक्टमा २४ प्रतिशतसम्म छुट पाउने सुबिधा, अनर बोनस स्वरुप कम्पनीको २ प्रतिशतसम्म फाइदा हुने जस्ता विभिन्न पद तथा पैसाको प्रलोभनमा पारी उनीहरुले ठगी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिए ।

उक्त नेटवर्किङ व्यवसायको अनुसन्धान गर्ने क्रममा कैलाली, कन्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लाका करिब २ सय जना सर्वसाधारणलाई प्रहरीले सिमा नाकाबाट उद्दार गरिसकेको समेत सो कार्यालयले जनाएको छ ।

ओरियन्स ग्लोबल मार्केटिङ प्रालि नेपालमा क्रिष्टल केयर नामक संस्थाबाट तथा भारतको चेन्नईमा प्रधान कार्यालय तथा दिल्लीमा शाखा कार्यालय स्थापना गरी नेपाल भारतको सिमा नजिक लखीमपुर भन्ने स्थानमा न्याचुरल वेल इन्टरप्राइजेज नामक उपशाखा कार्यालय खोली आफ्नो फुड प्रोडक्टको नेटवर्किङ व्यवसाय संचालन गरिरहेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरुलाई ठगी शीर्षक मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले बताएएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.