काठमाडौं, पुस ६ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा उठेका प्रश्नमाथि अध्यक्षद्वयले आइतबार जवाफ दिने भएका छन् । नेकपाको केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा जारी स्थायी कमिटी बैठकबारे जानकारी दिदैं प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले आईतबार जवाफ दिने जानकारी दिएका हुन् ।
स्थायी कमिटीमा बाँकी सदस्यले बोल्ने क्रम भोली सकिने र आइतबार अध्यक्षद्वयले बैठकमा उठेका प्रश्नको जवाफ दिने बताइएको छ । आजको बैठकमा बोल्ने स्थायी कमिटी सदस्यले एशिया प्यासिफिक सम्मेलनमा संसद र सरकारको लोगो प्रयोग गर्नु गलत भएको बताएका छन् । बैठकमा संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङले पार्टीवाट भएको कमजोरी सच्चाउनुपर्ने बताए ।
आजको बैठकमा नेम्वाङ सहित नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, मणि थापा र अमिक शेरचनसहित सात केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका छन । ४५ सदस्यीय स्थायी समितिमा अहिलेसम्म ४१ सदस्यले धारणा राखिसकेका छन् ।