नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै

रिपोर्ट नेपाल | 2018 Sep 12 | 09:15 am 1940

काठमाडौं, भदौ २७: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी एकता, सरकारको काम–कारबाहीलगायत विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्न लागेको हो ।

बैठक बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। बैठकको मुख्य एजेण्डा तल्ला कमिटिको पार्टी एकता र सरकारको काम–कारबाही रहेको नेताहरुले बताएका छन् ।

केन्द्रमा नेकपाको एकता भए पनि प्रदेश, स्थानीय तहदेखि जनवर्गीय संगठनमा अझै टुंगिएको छैन । जसले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा अन्योलको अवस्था सिर्जना भएको छ ।

आज बस्ने बैठकले यसबारे ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ । सरकारको काम–कारबाहीको समीक्षा पनि आजको बैठकमा हुने नेताहरुले बताएका छन् । सरकारका मन्त्रीको कार्यसम्पादनलाई लिएर पछिल्लो समय नेकपाभित्रै असन्तुष्टि चुलिएको छ । मन्त्रीको पफमेन्स सन्तोषजनक नभएको भन्दै जिम्मेवारी परिवर्तन गर्न पनि नेकपाभित्र बहस शुरु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.