नेकपा सचिवालय बैठक: नियमावलीलार्इ अन्तिम रुप दिन कार्यदल गठन

| 2018 Jul 07 | 02:01 pm 1401

काठमाडौं, असार २३: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्‍न भएको छ। बैठकले स्थायी समितिको बैठकमा उठेका विषयहरुको बारेमा विश्लेषण गर्दै पार्टीको प्रस्तावित नियमावलीलाई परिमार्जनसहित अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको जनाइएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटीको सुझावका आधारमा नियमावलीलाई अन्तिम रुप दिन कार्यदल गठन गरेको हो ।

नेता बामदेव गौतम, रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको कार्यदललाई ३ दिन भित्र नियमावलीलाई अन्तिम रुप दिएर प्रकाशन गर्ने कार्यादेश दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले रिपोर्ट नेपाललाई जानकारी दिए।

बिहीबार बसेको पार्टीको स्थायी समिति बैठकले नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी सचिवालयलाई दिएको थियो। स्थायी समिति बैठकमा नेताहरुले दिएको सुझावको आधारमा नियमावलीलाई अन्तिम रुप दिइने प्रवक्ता श्रेष्ठले बताए।

कार्यदलले तयार पार्ने नियमावलीलाई आगामी मंगलबार बस्ने सचिवालय बैठकले अनुमोदन गरेर त्यही दिन प्रकाशनका लागि पठाउने निर्णय भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.