नेकपा सचिवालय बैठक चार दिन सर्‍यो

रिपोर्ट नेपाल | 2018 Oct 10 | 10:07 am 2370

काठमाडौं, असोज २४: नेपाल कम्युनिस्ट पार्टीको बुधबारका लागि बोलाइएको सचिवालय बैठक फेरि चार दिन सरेको छ। २४ असोजमा बोलाइएको बैठक आवश्‍यक तयारी नभएको भन्दै २७ असोज बिहान ८ बजेका लागि सारिएको जनाइएको छ।

यसअघि आइतबारका लागि बोलाइएको बैठक दुवै पार्टी अध्यक्षको कार्यव्यस्तताका कारण सोमबारका लागि सारिएको थियो। सोमबार बसेको सचिवालय बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले लिखित असन्तुष्टि देखाएपछि बैठकको ऐजेण्डा नै मोडेर नेताहरुको विदेश भ्रमणको चर्चा गर्दै बैठक टुङ्‍ग्याइएको थियो।

बसौं कि नबसौं भन्दै सोमबार बसेको नेकपा सचिवालयको बैठक मुश्किलले दुई घन्टा चलेको थियो। सोमबारको बैठक चियापान अनि ठट्टा मजाक मै बैठक सकिएको थियो।

नेताहरु व्यस्त भएको भन्दै सोमबार बिहान नौ बजेका लागि बैठक साढे १० बजे मात्र शुरु भएको थियो। पटक पटक स्थगित भएर बसेको बैठकका लागि थुप्रै महत्वपूर्ण एजेन्डा थिए। पार्टीको आन्तरिक असन्तुष्टी व्यवस्थापनदेखि तल्ला निकायको एकता प्रक्रियासम्मको लफडा मिलाउनुपर्ने थियो। तर कुनै पनि विषयमा गम्भीर छलफल मात्र नभएको होइन, विषय प्रवेशसमेत भएन।

एकातिर माधव नेपालको असन्तुष्टि र अर्कोतिर रामवीर मानन्धरको राजिनामासँगै वामदेव गौतमको उम्मेदवारी दिने तयारीले गर्दा पार्टी शिर्ष नेतालार्इ फेरि झट्‍का लागेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.