नेकपा प्रवक्ता प्रकाण्डलाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्ने

| 2018 Sep 09 | 05:19 pm 2082

दाङ, भदौ २४ : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आठ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा तुलसीपुरमा भएको बम विस्फोट मुद्दामा विश्वकर्मालाई आठ दिन थुनामा राखेर अनुसन्धान गर्न दाङ देउखुरी जिल्ला अदालत अनुमति दिएको हो ।

विश्वकर्मालाई शुक्रबार भोजपुरबाट दाङ ल्याइएको थियो । भोजपुरबाट हिडेको दिन बुधबारबाट आठ दिनको म्याद थप भएकाले अब प्रहरीलाई तीन दिन मात्रै समय बाँकी छ । आइतबारसम्म पाँच दिन बितिसकेकाले तीन दिनमा यथेष्ट प्रमाणसहित पेश गर्न अदालतले आदेश दिएको छ ।

शुक्रबार कार्यालय बन्द भएकाले आइतबार अदालत पेश गरिएको जिल्ला प्रहरी प्रमुख एस्पी कृष्णहरी शर्माले बताए । निर्वाचनका क्रममा गत वर्ष मंसिर १२ गते बम बिस्फोट हुँदा म्यादी प्रहरी तुलसीपुर–१२ क्वाङीका २३ वर्षीय विनोद चौधरीको मृत्यु भएको थियो । अनुसन्धानका क्रममा विश्वकर्माको डायरीमा दाङमा बम विस्फोटबारे लेखिएको भेटिएपछि दाङ ल्याइएको प्रहरीले जनाएको छ ।

तत्कालिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेर बहादुर देउवाले सम्बोधन गर्ने चुनावी सभालाई लक्षित गरी बम विस्फोट भएको थियो । विस्फोटबाट म्यादी प्रहरीसहित ९ जना घाईते भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.