काठमाडौं, भदौ २०: नेपाल कम्युनिस्ट पार्टी एकीकरण भएको करिब चार महिना भएपनि जिल्ला, प्रदेश, स्थानीय तह तथा अन्य जनवर्गीय संगठनको भने अहिलेसम्म एकिकरण हुन सकेको छैन। कतै नेतृत्व विवादका कारण रोकिएको छ भने कतै नामको विषयलार्इ लिएर विवाद भएको छ।
कार्यकर्तामा आधारित (क्याडर बेस्ड्) राजनीतिक दलको नेता र कार्यकर्ता उत्पादन गर्ने तथा उसले गर्ने आन्दोलनलाई सफलता दिलाउन अति आवश्यक पर्ने जनवर्गीय संगठनमा युवाहरू संगठित पनि यस्तै विवादमा परेको छ। विद्यार्थी तथा युवा संगठनले पार्टीको नेतृत्वलार्इ ठुलो सहयोग गर्ने भएकोले यसको नेतृत्व आफ्नो पक्षमा पार्न पार्टी नेताहरूबीच ठूलै रस्साकस्सी भइरहेको छ।
तत्कालिन दुई पार्टीका युवा संगठनहरूलाई एक बनाउने कुरामा पार्टीको नेतृत्वले विशेष चासो राखेको पाइएको छ। एकातर्फ पार्टीको शिर्ष नेतृत्वको चासो र अर्कोतर्फ यी संगठनको नेतृत्वका आकांक्षी धेरै भएकोले नेकपाका चार संगठन एकतामा गएर दुई संगठन बन्न कठिनाइ भएको छ।
तत्कालिन एमालेको ‘युवा संगठन युवा संघ नेपाल’ र तत्कालिन माओवादी केन्द्रको ‘योङ कम्युनिस्ट लिग (वाइसिएल)’, र विद्यार्थी संगठनहरू तत्कालिन एमालेको ‘अनेरास्ववियु’ र तत्कालिन माओवादीको ‘अनेरास्ववियू (क्रान्तिकारी)’ बीचको एकता हुन सकेको छैन।
विद्यार्थी संगठनमा भएको सहमति अनुसार संगठनको नाम ‘अनेरास्ववियू’ हुने भएको छ। यसअघि एमाले निकटले अनेरास्ववियु र माओवादी निकटले अनेरास्ववियू (क्रान्तिकारी) लेख्थे। उक्त संगठनको अंग्रेजी नाम पनि टुंगो लागेको छ। जुन यस्तो हुनेछ- All Nepal National Independent Student Union.
विद्यार्थीको एकतापछि बन्ने संगठनको केन्द्रीय समितिको संख्यामा पनि लगभग टुंगो लागेको छ। कार्यदलले बनाएको उपसमितिले ४९९ सदस्यीय केन्द्रीय समिति रहने प्रतिवेदन कार्यदललाई बुझाइएको छ। एकता प्रक्रिया लम्बिँदै जाँदा उक्त सहमतिमा पनि विवाद हुन थालेको छ। क्रान्तिकारीले ४९९ मा सहमति भएको बताएको छ भने अनेरास्ववियुले २९९ को केन्द्रीय समिति बनाउनुपर्ने बताएको छ।
अनेरास्ववियुका महासचिव ऐन महरले एकतापछि बन्ने संगठनको केन्द्रीय समिति संख्यामा सहमति भइनसकेको बताएका छन् भने अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङले केन्द्रीय समिति ४९९ जनाको बनाउने प्रतिवेदन बुझाइएको बताएका छन्। यसअघि अनेरास्ववियुको १४५ सदस्यीय केन्द्रीय कमिटी थियो भने अखिल क्रान्तिकारीको १४३ सदस्यीय केन्द्रीय कमिटी थियो। ‘मुख्य समस्या संख्यामा हो। तर यसमा लगभग सहमति नजिक पुगेका छौँ’, महासचिव महर भन्छन्।
नेतृत्वका सन्दर्भमा भने पार्टी केन्द्रीय सचिवालयले टुंग्याउने भएकाले यसमा तल्लो तहमा कुनै छलफल नभएको महर बताउँछन्। अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ कार्यदलका सदस्य एवं पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी पार्टीको स्थायी समिति बैठक र बिम्स्टेक बैठकमा व्यस्त हुनुपरेकाले एकतामा ढिलाइ भएको बताउँछन्। नेतृत्वमा क-कसको दाबी ? संगठनको अध्यक्षमा दुवै संगठनका तर्फबाट झन्डै आधा दर्जन नेता दाबी गरिरहेका छन्।
जसमा पाँचजना अनेरास्ववियुका मात्रै छन् भने क्रान्तिकारीबाट अध्यक्ष रञ्जीत तामाङको मात्रै दाबी रहेको छ। संगठनको अध्यक्षका लागि पार्टीको मोडेल र एकताको निर्देशिकालाई हेर्दा दुई संगठनका अध्यक्षहरू मध्ये एकले एकता अधिवेशनसम्मको नेतृत्व गर्ने भएको र सोही अनुसार अगाडि बढ्ने तामाङको तर्क छ। उनले अनेरास्ववियुकी अध्यक्ष नविना लामा र आफूले एकताको अधिवेशन गरेर दायित्व पूरा गर्ने भन्ने कुरा भएको बताए। ‘यो विषयमा खासै धेरै विवाद भएको छैन।
यस विषयमा कार्यदलमा छलफलले प्रवेश पाइसकेको छैन’, उनी भन्छन् ‘सम्भवतः हामी मोडालिटीलाई हेर्दा र अन्तर्पार्टी निर्देशनको आधारलाई हेर्दा प्राकृतिक र न्यायोचित विधिलाई हेरेर जाने भन्ने हो।’ तामाङ अखिल क्रान्तिकारीको तर्फबाट स्वभाविक दाबेदार हुन्। उनी तत्कालिन माओवादीको जनवर्गीय संगठनमा निर्वाचित नेतृत्व भएका नेता हुन्। उनले एक वर्ष मात्रै काम गर्ने अवसर पाएका छन्। यता अनेरास्ववियुकी अध्यक्ष नविना लामा प्रतिनिधिसभामा सांसद भइसकेकाले जनप्रतिनिधि भएको व्यक्तिलाई पार्टीको जनवर्गीय संगठनको कुनै पनि कार्यकारी भूमिका नदिने पार्टीको निर्णय आइसकेको छ। यस आधारमा नेतृत्व स्वतः आफ्नो पक्षमा आउने तामाङको विश्वास छ।
उनी भन्छन्, ‘नविना कमरेडले पनि कार्यदलको बैठकमा आफू विद्यार्थीबाट विदा लिएर संसदीय मोर्चामा बसेर काम गर्ने भनिसकेको हुनाले यसै आधारमा कुरा हुन्छ।’ तत्कालिन अनेरास्ववियुबाट उपाध्यक्षहरू महेश बर्तौला, शैलेश लामा, सुनिता बराल महासचिव ऐन महर र सचिव सुदेश पराजुलीले अध्यक्षमा दाबी पेश गरेका छन्। तत्कालिन अखिल क्रान्तिकारीको तर्फबाट अहिलेका वर्तमान अध्यक्ष र निर्वाचित अध्यक्ष भएको हुनाले तामाङलाई नै अगाडि बढाउने भन्ने पदाधिकारीको बैठकले नै निर्णय गरेको छ। कार्यदलको बैठक कहिले बस्ने भन्ने टुंगो लागिसकेको छैन तर मन्त्री अधिकारीको समयको व्यस्ततालाई मिलाएर तत्काल बैठक बस्ने तयारी छ।
युवा संगठनमा झण्डा विवाद
दुई युवा संगठनबीच एकताका लागि धेरै कुरामा सहमति जुट्न सकेको छैन। यी दुई संगठनबीचमा एकता हुनका निम्ती मुख्य समस्या भनेको संगठनको नाम र झण्डामा छ। अझ बढी समस्या झण्डामा देखिन्छ। कार्यदलको विभिन्न चरणको छलफल सम्पन्न भएपनि हालसम्म संगठनको विधान, नाम, झण्डा तथा नेतृत्वमा सहमति हुन नसकेको युवा संघका उपाध्यक्ष किरण पौडेलले बताए।
विधानको अधिकांश कुरा लगभग टुंगिएपनि नाम भने टुंगिन सकेको छैन। नामको विषयमा दुई वटा अन्तिम विकल्प अगाडी सारिएको छ। एउटा राष्ट्रिय युवा संगठन र अर्को युवा संगठन नेपाल। यी दुईमध्ये कुनै एक नाममा सहमति हुने सम्भावना देखिन्छ। झण्डामा भने दुई पक्ष दुईतिर छन्।
खासगरी युवा संघ नेपालका नेताहरू युवा संघको पहिलेकै झण्डालाई एकतापछि बन्ने संगठनको झन्डा बनाउनुपर्ने बताउँदै आएका छन् भने वाइसिएलले नयाँ झण्डा बनाउनुपर्ने तर्क गर्दै आएको छ। युवा संघका उपाध्यक्ष पौडेल युवा संघको पुरानै झण्डाको ताराको रंग परिवर्तन गरेर गोल्डेन बनाउने की भन्ने कुरा भएको बताउछन्। तर, वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले भने यस विषयमा कुनै सहमति हुन नसकेको बताए।
एकतापछि बन्ने युवा संगठनको केन्द्रीय सदस्य संख्यामा भने नेकपाले दिएको म्याण्डेडअनुसार जान सक्ने स्थिती यसमा देखिदैन। २०० देखि २५० सदस्य भन्दा बढी नबनाउनु भन्ने पार्टीको निर्देशन छ तर ३०० र ३५० सम्म दिए सबैलाई समेट्न सकिन्छ भन्ने निष्कर्षमा युवा नेतृत्व पुगेको देखिन्छ। हाल युवा संघको ३५७ सदस्यीय र वाइसिएलको २३० सदस्यीय केन्द्रीय समिति छ। यी दुवै संगठनका बहालवाला सबैलाई समेट्नका निम्ती पनि संख्या बढाउनुपर्ने बाध्यतामा युवा संगठनका नेताहरू छन्।
‘पार्टीले तोकेको सीमा सानो छ। मिलाउने कोशिस गरिरहेका छौँ’, पौडेल भन्छन्। वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखा विभिन्न चरणमा छलफल चलिरहेको भएपनि अहिलेसम्म कुनै टुंगोमा पुग्न नसकेको बताउँछन्। यसबारेमा आगामी आइतबार कार्यदलको बैठक बस्ने तयारी पनि छ। खासगरी विधान र संख्यामा ३५१ सदस्यीय केन्द्रीय समिति बनाउने भन्ने विषयमा लगभग सहमति जुटेको दिपशिखा बताउँछन्। मुख्य मिल्दै नमिलेको विषय भने झण्डामा हो।
यसमा वाइसिएलले दुवै संगठनको नराखेर नयाँ झण्डा बनाउँ भन्दै आएको छ भने युवा संघले युवा संघकै राख्नुपर्छ भन्ने अडान लिएका कारण सहमति हुन सकेको छैन। नेतृत्वको सन्दर्भमा भने तल टुंगो लाग्ने सम्भावना नभएकाले पार्टीले टुंगो लगाउने अध्यक्ष दिपशिखा बताउँछन। ‘मुख्य समस्या भनेकै झण्डामा हो। यस विषयमा आइतबार हामी फेरि बस्दैछौँ त्यसपछि केही टुंगो लाग्ला’, उनले भने, ‘नेतृत्वका सन्दर्भमा भने सबैका आ-आफ्नै दाबी छन्। त्यसकारण तल मिल्ने सम्भावना देखिदैन। यो पार्टीले नै टुंग्याउछ। अन्य विषयमा सहमति नजिक पुगेका छौँ।’ देविका घर्ती मगर देविका थाहाखबरकी संवाददाता हुन्। उनी राजनीतिकसँगै महिला, जनजाति तथा सांस्कृतिक मुद्दामा कलम चलाउँछिन्।