काठमाडौं, साउन ७: नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस आज, कम्युनिष्ट पार्टी एवं तिनका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी उनको योगदानबारे बहस गरिदैछ।
काठमाडौं कीर्तिपुरको चम्पादेवीमा रहेको पुष्पलालको शालिकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेताले श्रद्धाञ्जली तथा माल्यार्पण गरेका छन्। गत जेठ ३ गते तत्कालीन दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टीबीच भएको एकतापछि यसबर्ष पहिलोपटक संस्थापक महासचिव श्रेष्ठको स्मृति दिवस एक साथ मनाईएको हो।
स्मृति दिवसमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले देशैभर विभिन्न कार्यक्रम गर्दैछ। राजधानीमा दिउँसो साढे १२ बजे राष्ट्रिय सभागृहमा स्मृतिसभाको आयोजना गरिएको नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। सो सभालाई प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
१९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा भएको थियो । पछिल्लो समय बामपन्थी नेताहरुले पुष्पलालको महत्व र सिद्धान्त भुल्दै गएको आरोप लगायउदै आएका छन् । श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रन्तिको आवश्यकता अझै पनि उत्तिकै सान्दर्भिक रहेको कम्युष्टि नेताहरु दावी गर्छन् ।