चितवन, असार २९ : नेपालमा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई कमजोर बनाउनका लागि देश विदेशमा षडयन्त्र सुरु भएको बताएका छन् । शुक्रबार भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै नेकपाकाे दुई तिहाइ मत भएकाले यसलाई अब के कसरी कमजोर पार्ने भनेर देश विदेशमा षडयन्त्र सुरु भएको बताएका हुन् ।
उनले मुलुकमा फेरि अस्थिरता र अराजकता कायम गर्न खोज्ने तत्त्व सल्बलाएको दाबी गरे । कार्यक्रममा बोल्दै देश विदेशका पुँजीवादी शक्तिहरू नेकपाको पार्टी एकताबाट आत्तिएको समेत बताए । ‘उनीहरू निकै घबराएका छन्। के गरेर कमजोर पार्ने भनेर अनेकौं खालका कसरत सुरु भएका छन्।’ दाहालले भने, ‘कहिले के नाममा, कहिले कुनै घटनालाई उचालेर देशमा अस्थिरता पैदा गर्न खोजिदैछ।’
७० वर्षपछि पैदा भएको राजनीतिक स्थायित्वको परिस्थितिलाई बिगार्न र त्यसलाई ध्वस्त गर्न खोजेको उनले बताए। सरकारले गर्न खोजेका सकारात्मक कामहरूमा व्यवधान खडा गर्न खोज्ने बितण्डाहरु बिस्तारै देखिन थालेकोले यसका विरुद्ध कम्युनिष्ट पार्टी देशव्यापी अभियानमा लाग्ने उनले बताए।
‘अब साउनभित्र एकताका सबै प्रक्रिया टुङ्ग्याउने छौँ। प्रदेश, जिल्ला, स्थानीय तहसम्मका कमिटीहरू एकीकृत हुनेछन्। भदौ र असोजमा हामी देशव्यापी अभियानमा लाग्ने छौँ,’ दाहालले भने।