- बसन्त भुजेल
नेकपाको बहुमतको दम्भले गर्दा देश तहस नहस भइसकेको छ । आफू भन्दा फरक विचार राख्नेको त कुरै नसुन्ने, पेलेरै किनारा लगाउन खोज्ने रोगले नेकपा छिट्टै विभाजन भएर टुक्रा टुक्रा हुने पक्का पक्की छ । नेकपामा खासै दुरदर्शी नेता तथा थिङ्क ट्यांकहरु देखिएनन् । रोल्स रोय कार त पाए, तर चलाउन जानेनन् । बाँदरको हातमा नरिवल जस्तै भयो ।
युवराज खतिवडा यतिबेला चर्चाको चुलीमा छन् । उनले जुन क्षेत्रमा बिशिष्ठता हासिल गरेका छन्, त्यसमाथि प्रश्न उठाउने चेष्टा यस पंक्तिकारको होइन । मौद्रिक अर्थशास्त्रमा उनी विद्यावारिधी हुन् । उनी जस्ता विद्यावारिधि गर्नेहरुको संख्या मुलुकमा उल्लेख्य छ । उनले भन्दा राम्रो विश्व विद्यालयबाट, उनले भन्दा राम्रो मेरिट ल्याएर विद्यावारिधि गरेका विज्ञहरुको संख्या पनि मुलुकमा उल्लेख्य छ । तर विगत एक दशकलाई हर्ने हो भने डा. खतिवडा बाहेक अर्को विकल्प नै छैन कि झैं गरी नेपाल कम्युनिष्ट पार्टी प्रस्तुत भएको देखिन्छ । एक कार्यकाल राष्ट्रिय योजना आयोगको सदस्य, अर्को कार्यकाल उपाध्यक्ष । त्यसपछि एक कार्यकाल नेपाल राष्ट्र बैंकको गभर्नर । अनि अर्थमन्त्री र सांसद । सांसद पद सकिएर अर्थमन्त्री पदबाट राजीनामा दिएपछि पनि फेरी पुर्ननियुक्ति । संविधानतः मन्त्रीपदमा निरन्तरता दिन नमिल्ने भए पछि सिंगो अर्थमन्त्रालय हेर्ने गरी प्रधानमन्त्रीको सल्लाहकार । प्रधानमन्त्रीको सल्लाहकार भएको डेढ महीना नवित्दै अमेरिकाका लागि राजदूत ।
राजनीतिक नियुक्ति तथा जिम्मेवारी प्रधानमन्त्रीको विशेष अधिकार क्षेत्र भित्रको कुरा हो । दलिय प्रणालीमा सत्तारुढ राजनीतिकदलको आन्तरिक मामिलाको पनि कुरा हो । नेकपालाई पाँच वर्षका लागि सत्ता संचालन गर्न जनताले अभिमत दिइसकेका छन् । केपी शर्मा ओली सरकारले जिम्मेवारी दिएका अरु व्यक्तिको तुलनामा डा. खतिवडाको छवी नराम्रो पनि छैन । विशेष गरी आर्थिक मामिलामा राजनीतिकर्मीलाई भन्दा विज्ञहरुलाई जिम्मेवारी दिने विश्वव्यापी प्रचलन हो । तर दुखको कुरा मुलुकको सबै भन्दा ठूलो पार्टी, पाँच वर्षका लागि शासन चलाउने जनम्याण्डेट पाइसकेको पार्टी, मुलुक नबिगारे फेरी अर्को कार्यकालका लागि पनि जनताको म्याण्डेट पाउन सक्ने पार्टी, तर यस्तो पार्टीमा खतिवडा बाहेक अरु विज्ञ रहेनछन् । यहाँ भन्दा दिक्दार लाग्दो र धिक्कार योग्य कुरा के हुन सक्छ ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विज्ञहरुको खडेरी किन पर्यो ? भन्ने प्रश्नको जवाफ खोज्नु पनि त्यतिकै जरुरी छ । किनकी कोदो रोपेर धान फल्दैन । नेपालका पार्टीहरुले राजनीतिक संघर्षका लागि मात्रै जनशक्ति तयार गरेका रहेछन् । मुलुक संचालनका लागि जनशक्ति तयार गरेका रहेनछन् । लोकतान्त्रिक शासन व्यवस्था जनमुखी हुन नसक्नुको मुख्य कारण भनेकै यही हो । यो मामिलामा कम्युनिष्ट पार्टीहरु अझै बढी चुकेको देखिन्छ । मुलुकको विद्यमान शिक्षा प्रणालीलाई वुर्जुवा शिक्षा भन्दै बहिस्कार गरे । ‘माक्र्सबादमा जे छ त्यो जानेपछि राज्य संचालनमा पुगिहाल्छ, माक्र्सवादमा जे छैन, त्यो राज्य संचालनका लागि आवश्यक छैन भन्दै’ कलिला विद्यार्थीहरुलाई पाठ्यपुस्तक च्यात्न लगाइयो । पार्टीका पूर्णकालिन कार्यकर्ता बनाएर कम्युनिष्ट दर्शन मात्रै घोक्न लगाइयो । बन्दुक बोेकेर मान्छे मार्ने तालिम दिइयो । आज त्यसको परिणाम मुलुकले भोग्दैछ । राजनीतिक परिवर्तन गर्न त कम्युनिष्टहरु सफल भए, तर परिवर्तन पछि आफ्नो हातमा आएको सत्ता संचालन गर्न भने सकेन् । जनशक्ति नै भएन । डा. खतिवडाको लगातार नियुक्ति यसैको परिणाम हो । दुई तिहाई बहुमत प्राप्त गरेको पार्टीले गरेको सत्ता संचालनको हालत देखि सकियो । मन्त्रीहरुको क्षमता देखि सकियो । धान रोपेको एक महिना भित्र चाहिने रासायनिक मल आगामी मंसीरमा आइपुग्ने घोषणा कृषि मन्त्री घनश्याम भुसालले गरेका छन् ।
पर्यटनमन्त्री योगेश भट्टराईको चर्तिकला यो सानो आलेखमा उल्लेख गरेर साध्य छैन । प्रचण्डकी बुहारी विना मगरको योग्यता मेलम्ची खानेपानी आयोजना प्रकरणले देखाई सक्यो । तामाकोशी जलविद्युत आयोजना निर्माणको ढिलाईका कारण निधारमा कालो टिका लागि सकेका उर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा निरन्तरता दिन सकेनन् । युवराज खतिवडाले के कारणले नियुक्ति पछि नियुक्ति पाइ रहेका छन् ? के कारणले कुलमान घिसिङले निरन्तरता पाउन सकेनन् ? उर्जामन्त्री पुनसँग यो प्रश्नको जवाफ छ ? अनि केको फलाक्छौ समावेशी लोकतन्त्र स्थापना गर्यौं भनेर ?
पहिलो कुरा त सत्ता संचालनको म्याण्डेट अझै दुई वर्ष बाँकी रहेकोले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले आफ्नो मती सुधारुन । मौका अझै बाँकी छ । राम्रो कुरा आफ्नो विरोधीबाट पनि सिक्नु पर्छ । मुलुक चलाउने विषयगत विज्ञहरु आफ्नो खल्तीमा हुँदैनन् । कुनै पनि नेताले आफ्नो खल्तीमा राखेर हिँड्न सम्भव हुँदैन, चाहे जति सुकै ठूलो राजनेता नै किन नहोस् । यो कुरा तत्कालिन राजा महेन्द्र र नेपालका दूरदर्शी राजनेता वीपी कोइरालाबाट कम्युनिष्टहरुले सिकुन । २००७ सालमा राणा शासन ढालेर मुलुकमा प्रजातन्त्र स्थापना गर्दा नेपाली कांग्रेससँग ९० प्रतिशत भन्दा बढी बन्दुक चलाउन र भाषण गर्न मात्रै जान्ने जनशक्ति थियो । भाषण र बन्दुकले मात्रै मुलुक चल्दैन भन्ने कुरामा वीपी कोइराला प्रष्ट थिए । उनले दार्जिलिङबाट हरिप्रसाद प्रधानलाई झिकाएर प्रधानन्यायाधीश बनाए । योगप्रसाद उपाध्यायलाई आसामबाट झिकाएर कानुन मन्त्रालयको सचिवको जिम्मेवारी दिए । कालिङपोङबाट डीवी परियारलाई झिकाएर पार्टीको महामन्त्री बनाए । अंग्रेजी भाषामा पोख्त विज्ञ विना परराष्ट्र मन्त्रालय चल्दैन भन्ने निचोडमा पुग्दै डा. तुल्सी गिरीलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी मात्रै दिएनन्, विदेशमा उच्च शिक्षा लिएका सुन्दर युवतीहरुलाई खोजी खोजी परराष्ट्र मन्त्रालयको काममा लगाए । जसमध्ये वृन्दा शाहले २०४६ सालको नाकावन्दीका बेलामा समेत कुशलता पुर्वक भारतमा राजदूतको जिम्मेवारी सम्हालेकी थिइन । जसलाई परिर्वतन पछि पनि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले निरन्तरता दिएको थियो ।
२०१७ सालमा तत्कालिन राजा महेन्द्रले जननिर्वाचित सरकार र संसद भंग गरी आफ्नो हातमा शासन सत्ता लिए । यो राजनीतिक निर्णय लिएर उनले ठीक गरेकी बेठीक गरे ? भन्ने प्रश्नको विश्लेषण आफ्नो ठाउँमा होला, तर शासन सत्ता लिएपछि उनले आफ्नो कार्यकालमा मुलुक विग्रन दिएनन्, बरु केही सपारे भन्ने कुरामा बिवाद छैन । महेन्द्रको राजनीतिक पाटोका बारेमा राजनीतिक शास्त्रीहरुले नै विश्लेषण गरुन, तर आर्थिक विकास, शान्ति र सुशासनका सन्दर्भमा भन्ने हो भने नेपाल एकीकरण यताको सबै भन्दा उत्तम कालखण्ड भनेकै २०१७ देखि २०२८ सम्मको हो । राजनीतिक प्रणाली बाहेक वीपीले तय गरेका सबै क्षेत्रका संयन्त्रलाई राजा महेन्द्रले निरन्तरता दिए । विज्ञहरुलाई खोजी खोजी उचित जिम्मेवारी दिनुपर्ने वीपीको मार्गदर्शनलाई उनले अनुशरण गरे । वीपीले परराष्ट्रमन्त्री बनाएका डा. तुल्सी गिरीलाई राजा महेन्द्रले प्रधानमन्त्रीकै जिम्मेवारी दिए । विदेशमा रहेका नेपाली विज्ञहरुलाई खोजी खोजी स्वदेश ल्याएर जिम्मेवारी दिए ।
नेपाली कांग्रेसमा रहेका योग्य जनशक्ति छानीछानी राजाले प्रयोग गर्नथालेपछि भारत प्रवासमा रहेका वीपी कोइराला चिन्तित थिए । चिट चोरेर, थर्ड डिभिजनमा एसएलसी पास गरेका, पढाई छाडेर भागेकाहरुले पार्टी भरिए पछि बनारसमा बसेका वीपी कोइरालाले अफ्ना निकटस्थहरु सँग भनेछन् –‘पढाइमा अली व्रिलेण्ट केटाहरु नेपालबाट भारत आएका होलान, उनीहरुलाई खोजेर ल्याउनु, भोली मुलुक संचालन गर्ने जनशक्ति चाहिन्छ ।’ वीपीको यो आदेश पछि गिरिजाप्रसाद कोइराला भारतमा अध्ययनरत नेपाली व्रिलेन्ट विद्यार्थीहरुको खोजीमा निस्केछन् । यही क्रममा उनले चक्र बास्तोला र डा.बाबुराम भट्टराईलाई ल्याएर वीपीको सामुन्ने खडा गरिदिए छन् । हुन पनि २०४६ सालको परिवर्तन पछि चक्र बास्तोलाले निरन्तर जिम्मेवारी पाइरहे, आफ्नो जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरे । डा. बाबुराम भट्टराई चाँही राजसंस्थाको मामिलामा वीपी सँग कुरा नमिलेपछि कांग्रेस छाडेर कम्युनिष्ट पार्टीमा ज्वाइन भए । राजनीतिक रुपमा जे जस्तो गतिविधि गरेपनि, मुलुकको राष्ट्रियताको मामिलामा जे जस्तो गद्धारी गरेपनि मुलुकको आर्थिक मामिला तथा विकास निर्माणको मामिलामा भने डा. भट्टराई काविल नै ठहरिए । प्रधानमन्त्रीका रुपमा असफल भए पनि अर्थमन्त्रीका रुपमा डा. भट्टराईलाई सफल नै मान्नु पर्ने हुन्छ ।
वुर्जुवा शिक्षा बहिष्कारका नाममा विगतमा गरेको गल्ती कम्युनिष्ट पार्टीका नेताहरुले स्वीकारी सकेका छन् । यो गल्तीका कारण सत्तारुढ नेकपासँग मुलुक चलाउने विज्ञहरु नभएको यर्थाथता अब लुकाएर लुक्ने कुरा भएन । डा. युवराज खतिवडा प्रकरणले छताछुल्ल बनाइसक्यो । कट्टु च्यातिइसकेपछि लाज मान्नुको अर्थ छैन, हातले छोप्दै हिँडेर धेरै दिन चल्दैन, बरु जडाउरी नै भए पनि अर्काको मागेर लाउँदा थप इज्जत बच्छ । नेकपाको कट्टु च्यातिइसकेको छ । हातले छोप्ने गल्ती अब नगर । पार्टी संचालन आफ्नो हिसावले गर, तर मुलुक संचालनका लागि अन्य पार्टीबाट भए पनि विज्ञहरु ल्याएर जिम्मेवारी देउ । मुलुकमाथि खेलवाड नगर । कुनै दल विशेषमा नलागेका विज्ञहरु पनि मुलुकमा धेरै छन् । मुलुकको परिस्थिति देखेर दिक्क हुँदै विदेश पलयान भएका विज्ञहरु पनि धेरै छन्, जसले आफ्नो विज्ञता वाध्यताबस् अरुको भूमिमा प्रयोग गरेका छन् । उनीहरुलाई स्वदेश फिर्ता ल्याएर उचित जिम्मेवारी देउ । यदी मुलक सपार्न चाहेका हौ भने वर्षमान पुनलाई पार्टीको जिम्मेवारी दिएर कुलमान घिसिङलाई उर्जामन्त्री बनाउ । घनश्याम भुसाल भाषण गरेर जनताको दिमाग भुट्न योग्य छन्, उनलाई भाषणको जिम्मेवारी दिएर डा. मदन राईलाई कृषि मन्त्री बनाउ । डा. शेरबहादुर पुनलाई स्वास्थ्य मन्त्री बनाएर भानुभक्त ढकाललाई उनको पीए नियुक्त गर । महावीर पुनलाई विज्ञान तथा प्रविधि मन्त्री बनाउ ।
कोदोको रोटी पेटभरी खान नपाउनेले विदेशी केक र पिज्जा खान थालेपछि, कोदोको लोकल ठर्रा खानेले विदेशी स्कच भन्दा अरु केही नखाने भएपछि, आफ्नो धरातल विर्से पछि कसरी मुलुकमा दिगो विकास हुन्छ ? साइकल र घोडा नदेखेकोले एकै चोटी हेलिकप्टर पाएपछि त्यसको सदुपयोग होला कि दुरुपयोग ? नेपालमा यस्तै भइरहेको छ ।
बोर्डिङ स्कुलको विद्यार्थीले जस्तै सेतो सर्टमा रातो टाई लगाएका छन् तर विदेशीसँग वार्तागर्न दोभासे चाहिन्छ । शिक्षाको खासै कदर छैन । मिडियामा बोल्नेलाई भन्दा सुन्नेलाई लाजभनेझै प्रस्तुत हुन्छन् । आफूले के बोल्नु पर्ने हो ? के बोल्दैछु ? भन्ने थाहा नै पाउँदैनन् । मिलिजुली भागवण्डामा देश लुटेका छन् । देखाउनका लागि मात्रै पार्टी खोलएको हुन्छ । संस्थान, राजदूत, संवैधानिक अंग मात्रै होइन न्यायालय समेत नेताहरुको भागवण्डामा खल्तीबाट नियुक्ति गरिएकाहरुले भरिएका छन् ।
जुनै पार्टीले देश चलाए पनि खासै फरक देखिएको छैन । नेपालीहरु बाँडीचुँडी खान माहिर छन्, देश नै बाडेर खाने कुरामा समेत एक हुन्छन् । कुनै पनि देशमा यस्तो हुँदैन । सभ्यता भनको कुन चराको नाम हो थाहा छैन । जसरी भए पनि पैसा लुट्नु पर्छ भन्ने मात्रै छ । धेरै बिरोलो भएपछि मुसा मार्दैनन् भनेझैँ धेरै नेता भएको कारण पनि नेकपा काम हुन नसकेको हो । पाँच जना त प्रधानमन्त्री मात्रै छन् । उपप्रधानमन्त्री र मन्त्रीहरु त कति कति । नेकपा त पुवप्रधानमन्त्रीहरुको क्लव जस्तै भयो । प्रधानमन्त्री भइसकेको नेता कार्यकर्ता बनेर बस्ने कुरा भएन । तर प्रधानमन्त्री पद एउटा मात्रै हुन्छ । पिएचडी गरेर घाँस काट्न, बाख्रा चराउन जाने कुरा भएन ।
अब एउटा जहाजमा एउटा क्याप्टेन मात्रै राख्ने तर दक्ष, विज्ञ, राकेट उडाउन जान्ने क्षमता भएको राख्नेकि, जसले जहाज सही तरिकाले उडाउन र अवतरण गर्न सकोस् । जहाज उडाउन भन्दा अवतरण गर्न गारो हुन्छ । गफ हाँकेको भरमा अहिले पाएको जनअभिमत नेकपाकालागि निल्नु न ओकेल्नु भएको छ । तातो दूध मुखमा हाले जस्तै थुकौं लोभ लाग्छ निलौं पेट पोल्छ । मुखमा राखि राख्दा झन पोल्छ ।
केही राष्ट्रवादी नेताहरु देखिन्छन्, तर उनीहरुको पार्टी भित्र खासै भूमिका देखिन्न । म भन्दा जान्ने अरु कोही छैन भन्ने नेताहरुको विगविगीका कारण पार्टी फुट्ला वा दुर्घटना नहोला भन्न सकिन्न । कथित विज्ञ धेरै भएर होला, आफ्नो आफ्नो विचार, सिद्धान्तको तानातानले गर्दा देश नै चोक्टा चोक्टा हुन लागेको छ । चीनमा त एउटा लिडर हुन्छ देश बलियो भएकोछ ।
अमेरिकामा पनि राष्ट्रपतिका रुपमा एकजना मात्रै नेता हुन्छन्, देश बलियो नै भएको छ । तर नेपालमा त वडा वडामा छोटे सरकार, अब त सबैले तान्दा तान्दा ढुंगा माटोले पनि नपुग्ने भयो । कति धेरै पार्टी, कति धेरै नेता, बेलायतमा दुई वटा पार्टी हुन्छन्, पहिलो पार्टीले देश चलाउँछ, दोस्रो पार्टीले प्रतिपक्षको भूमिका निर्वाह गर्छ । नेपालमा त प्रतिपक्ष मै पनि हारालुछ छ ।
(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)