नेकपामा केन्द्रीय कमिटी बैठकको माग

रिपोर्ट नेपाल | 2020 Jul 06 | 08:47 am 1759

काठमाडौं, असार २२ः नेकपामा देखिएको विवाद समाधान गर्न आइतबार पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकस्सी भएको छ । दुवै जना आआफ्नो अडानमा यथावत् रहँदा विवाद समाधान हुन नसकेको हो ।

प्रधानमन्त्रीको राजीनामा प्रकरणले नेकपा शीर्ष नेतामा बढ्दै गएको दुरीका बीचमा सहमतिको मिलनबिन्दु खोज्ने प्रयास भए पनि उपलब्धि शून्य भएको छ । ओली र दाहाललाई सहमतिमा ल्याउन दोस्रो पुस्ताका शीर्ष नेताहरूले पहल थालेका छन् ।

नेकपा महासचिव पौडेलले दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको र थप छलफलका लागि सोमबार पुन छलफल गर्ने सहमति भएको बताए । सोमबार स्थायी कमिटी बैठकसमेत बोलाइएको छ । बैठक बस्नुभन्दा अघि दुई अध्यक्षका बीचमा छलफल गर्ने सहमति भएको छ ।

यसैबीच स्थायी कमिटीको बैठक चलिरहेकै बेला पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरिएको छ । नेकपा केन्द्रीय सदस्य दिलु पन्तले पछिल्लो राजनीति अवस्थाका साथै पार्टीका विभिन्न विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाउन हस्ताक्षर सुरु गरिएको बताइन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सांकेतिक धर्ना दिइरहेका केन्द्रीय सदस्यले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउन लागि हस्ताक्षर अभियान सुरु गरेका हुन् । पार्टीलाई विधि, पद्धति र विधानअनुसार सञ्चालन गर्नुपर्ने, पार्टी विभाजन रोक्नुपर्नेलगायतका मागसहित विगत दुई दिनदेखि केन्द्रीय कार्यालयमा सांकेतिक धर्ना दिइरहेका केन्द्रीय सदस्यले अब सबै विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठकको आवश्यकता रहेको जनाएका छन् ।

विधानअनुसार पार्टी सचिवालय, स्थायी कमिटीले कुनै पनि निर्णय गरे पनि त्यसको अनुमोदन केन्द्रीय कमिटीको बैठकबाट गराउनुपर्छ । पार्टीभित्र विभाजनको खतरा बढ्दै गए पछि केन्द्रीय सदस्यले हस्ताक्षर अभियान सञ्चालन गरेर नेतृत्वलाई दबाब दिएका हुन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.