काठमाडौं, असार १३ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा शुक्रबार अनुपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार उपस्थिति जनाएका छन्।
गत बुधबारदेखि सुरु भएको बैठकमा शुक्रबार अनुपस्थित भएपछि अधिकांश स्थायी कमिटी सदस्यहरुले ओलीको चर्को आलोचना गरेका थिए । शनिबारको बैठकमा भने उनीकेहीबेर उपस्थित भएर बाहिरिएका थिए ।
शनिबार साढे ११ बजेतिर सुरु भएको बैठकमा उपस्थित भएका प्रधानमन्त्री ओली करिब आधा घण्टमै बाहिरिएका हुन् ।
बैठकको अध्यक्षता अर्का प्रचण्डले गरिरहेको हुँदा बैठकमा पूरै समय आफ्नो उपस्थिति जरुरी नहुने र प्रधानमन्त्रीको हैसियतले अरु पनि कामहरु भएको प्रधानमन्त्रीले स्पष्टीकरण दिएको बालुवाटार स्रोतले बतायो ।
शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीको अनुपस्थितिलाई लिएर आक्रोश पोख्दै कतिपय नेताहरुले बैठक राख्न आनाकानी गर्ने, राखेको बैठकमा पनि नेताहरुको कुरा नसुन्ने भन्दै आपत्ति प्रकट गरेका थिए ।
कतिपयले बालुवाटारबाट बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा सार्न मागसमेत गरेका थिए ।