नेकपाको सचिवालय बैठक बिहीबार

रिपोर्ट नेपाल | 2018 Nov 19 | 07:51 am 2275

काठमाडौं, मंसिर ३ : पार्टीको तल्लो तहको एकीकरणका लागि नेताहरूको कार्यविभाजनको अन्तिम प्रस्ताव तयार गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मंसिर ६ गते बस्ने भएको छ।

पछिल्लो समय बैठक नै नबसेको भन्दै पार्टीभित्र तीव्र विरोध हुन थालेपछि आइतबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले बैठक बोलाउने निष्कर्ष निकालेका हुन्। यसै विषयमा दुवै नेताबीच आइतबार छलफल भएको थियो ।

सचिवालय बैठकले एकता र कार्यविभाजनको प्रस्ताव तयार गर्नेछ । त्यसपछि स्थायी समिति बैठक बोलाइने छ । महासचिव विष्णु पौडेलले सचिवालयमा छलफल गरी एकीकरणसम्बन्धी काम स्थायी समितिबाट टुंग्याउने जानकारी दिएका छन् ।

तल्लो तहको एकीकरणसम्बन्धी प्रारम्भिक प्रस्ताव तयार गर्न नेकपाले महासचिव पौडेल र सचिवालय सदस्य रामबहादुर थापालाई जिम्मेवारी दिएको थियो । उक्त कार्यदलले तल्लो तहबाट आएका प्रस्तावलाई आधार मानेर कुन कमिटीमा कसलाई कसरी जिम्मेवारी दिने भन्ने प्रारम्भिक खाका तयार गरेको छ । यही खाकामाथि सचिवालयले छलफल गर्ने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.