काठमाडौं, चैत्र ३ : नेकपा एमाले र नेकपा एकीकृत माओवादीबीच एकता भएको लामो समयपछि जिल्ला तहमा रहने अध्यक्ष र सचिवको नामावलीसहितको प्रस्ताव तयार पारेको बुझिएको छ । नेतृत्वमा जिल्ला तहमा तत्कालीन एमालेबाट ५७ र तत्कालीन माओवादीबाट ४३ प्रतिशत हुने बताइएको छ।
महासचिव विष्णु पौडेलको सहयोगमा तयार पारिएको मनोनित प्रस्ताव आज आइतबार बस्ने सचिवालय बैठकमा छलफल हुने नेकपाका एक नेताले बताएका छन् ।
पार्टी एकताका क्रममा तत्कालीन एमालेले अध्यक्ष पाएको जिल्लामा तत्कालीन माओवादीले सचिव र तत्कालीन एमालेले सचिव पाएको ठाउँमा तत्कालीन माओवादीले अध्यक्ष लिने समझदारी भएको थियो । सोही आधारमा महासचिव पौडेलको सहयोगमा अध्यक्षद्वयले जिल्ला अध्यक्ष र सचिवको नामावली तयार पारेका छन् ।
केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले आज बस्ने सचिवालय बैठकले तल्लो तहसम्मको एकता प्रक्रिया टुंगो लगाउन अन्तिम प्रस्ताव तयार पार्ने जानकारी दिएका छन् ।
अध्यक्षद्वयले तयार पारेको प्रस्तावलाई निश्चित विधि र प्रक्रियाका आधारमा सचिवालयले अन्तिम रूप दिने र स्थायी समितिबाट अनुमोदन गर्ने तयारी नेकपाको छ ।
पार्टी तल्लो तह र जनवर्गीय संगठनको एकतामा भएको ढिलाइले नेकपाभित्रै असन्तुष्टि बढेपछि अध्यक्षद्वय नामावली सार्वजनिक गर्ने गृहकार्यमा लागेका थिए ।
प्रस्ताव तयार गर्न नसकेर कार्यदल विघटन भएपछि सचिवालय बैठकबाट म्यान्डेट लिएर अध्यक्ष ओली र दाहालले प्रस्ताव तयार पारेका हुन् । उक्त प्रस्तावलाई सचिवालयबाट अन्तिम रूप दिन आज बैठक बोलाइएको छ ।
जिल्ला नेतृत्वको नामावली तत्कालीन माओवादीबाट अध्यक्ष दाहालले प्रस्ताव गरेका थिए भने तत्कालीन एमालेबाट अध्यक्ष ओलीले महासचिव विष्णु पौडेलको सहयोगमा प्रस्ताव गरेका थिए ।
दुवै अध्यक्षले तयार पारेको जिल्ला अध्यक्ष र सचिवको नामावलीमा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य वामदेव गौतमसँग पनि अध्यक्षद्वय ओली र दाहालले सामूहिक छलफल गरेको बताइएको छ ।
प्रदेश ५ अन्तर्गतका जिल्ला नेतृत्वमा तत्कालीन एमालेतर्फबाट प्रस्तावित नाममा वरिष्ठ नेता नेपालले असहमति जनाएका कारण अध्यक्ष ओलीले नेता नेपालसँग छुट्टै छलफल गरेर प्रस्ताव तयार पारेको नेकपा स्रोतले जनाएको छ ।