-
अरुण अर्याल
काठमाडौं, जेठ २: गत वर्ष जेठ ३ गते सशस्त्र युद्ध गरेको नेकपा माओवादी र बहुदलिय जनवादलाई अंगिकार गरेको नेकपा एमालेको पार्टी एकता भएपनि उक्त एकताले एक वर्षसम्म सार्थकता पाउन सकेको छैन ।
तीन महिना भित्र पूर्ण रुपमा सबै जनवर्गीय र भातृ संगठनको समेत एकता टुंग्याउने सहमती गरेका दुई दलले केही दिन अघि मात्रै जिल्ला जिल्लाको एकताको अन्तिम टुंगो लगाएका थिए । पार्टी प्रदेश र जिल्ला एकताको टुंगो लगाए पनि भातृ संगठनको एकता टुंगो लगाउने नेकपाले सकिरहेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण जानु अघि महासचिव विष्णु पौडेललाई एकताको रुपरेखा तयार पार्न निर्देशन दिएका थिए । प्रधानमन्त्री ओली पनि हिजो बुधबार भ्रमण समाप्त गरी स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री ओली स्वदेश फर्किए लगत्तै पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच एकताको विषयमा छलफल भएको बुझिएको छ । सबै एकतालाई टुंगोमा पुर्र्याउनका लागि आज हुने छलफलले सार्थकता पाउन सक्ला कि नसक्ला भन्ने विषयमा अन्यौलता छाएको छ ।
पार्टीको सम्पूर्ण एकता समयमै टुंगोमा पुर्याएर देशभर नयाँ जोस जाँगरका साथ अघि बढ्नुपर्ने तर्क अध्यक्ष प्रचण्डले सारेपनि एकता टुंगोमा पुग्ने कुरामा आशंका पैदा भएको छ । भोली जेठ ३ गते विशेष समारोहका बीच एकताको टुँगो लगाउने भनिए पनि केही काम अझै बाँकी रहेको नेकपा स्रोतले रिपोर्ट नेपाललाई बताएको छ ।
एकताको विषयमा बरिष्ठ नेता माधवकुमार नेपालले एकताको सन्देशले कार्यकर्तालाई उत्साह पैदा गराउन सक्नुपर्ने बताएका छन् । पार्टीका नेताहरु बीच बसेर गम्भीर भएर गरिने छलफलबाट निस्किएको निश्कर्षबाट भएको एकताले सार्थकता र कार्यकर्तामा उत्साह पैदा हुने भएकोले त्यता पट्टी ध्यान दिन नेपालले नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
प्राय सबै नेताले भोली जेठ ३ गते शक्रबार जनवर्गीय संगठनको एकताको घोषणा हुने बताए पनि नेकपाको एक स्रोतले जेठभित्र हुने बताएको छ ।