नेकपाका केन्द्रीय प्रचार तथा प्रकाशन प्रमुखकाे जिम्मेवार श्रेष्ठलाई

रिपोर्ट नेपाल | 2019 Sep 05 | 07:07 am 1920

काठमाडाैं, भदाै १९: सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी प्रमुख नारायणकाजी श्रेष्ठ र उपप्रमुख सूर्य थापालाई दिइएको छ ।

केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा तत्कालीन नेकपा (एमाले) का प्रचार प्रमुख योगेश भट्टराई र नेकपा (माओवादी केन्द्र) का प्रचार प्रमुख पम्फा भुसालले प्रमुख र उपप्रमुखलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यतिबेला स्वतन्त्रता र अनुशासन तथा लोकतन्त्रबीच सन्तुलित सम्बन्ध र व्यवहार गर्न आवश्यक रहेको बताएका थिए ।

एमाले प्रचार विभाग प्रमुख भट्टराई र माओवादी केन्द्रका प्रचार प्रमुख भुसालले आफूहरुले प्रचार विभागमा रहँदा गरेका कामका बारेमा अनुभव सुनाउँदै नवगठित प्रचार विभागले पार्टीका गतिविधिलाई तीव्र बनाउनुपर्ने बताए ।

नयाँ प्रचार विभाग प्रमुख श्रेष्ठले विभागले पार्टीको योजनाबद्ध र सुव्यवस्थितरूपमा काम गर्ने बताए । उपप्रमुख थापाले पार्टी नियमावली २०७५ ले विभागलाई प्रदान गरेको कार्य क्षेत्रको चर्चा गर्दै चाँडै नै विभागलाई पूर्णता दिइने जानकारी दिए । साे विभाग ३५ सदस्यीय रहने बताइएकाे छ ।

उक्त कार्यक्रममा नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली, प्रदीप नेपाल, अग्नि सापकोटा, रघुजी पन्त, प्रेस सङ्गठन नेपालका इञ्चार्ज राजेन्द्र गौतम, सहइञ्चार्ज तथा संयोजक महेश्वर दाहाल र ओम शर्मा तथा सहसंयोजक गणेश बस्नेतलगायतले आ–आफ्ना सुझाव र शुभकामना दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.