नीति तथा कार्यक्रममा सत्ता पक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोपकाे जुहारी

रिपोर्ट नेपाल | 2020 May 18 | 08:17 am 1423

काठमाडाैं, जेठ ५ः सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सत्ता पक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोपकाे जुहारी भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रममा कोरोना भाइरसले पारेको असरको विषयलाई समावेश गर्न नसकिएको आरोप लगाएको छ भने सत्ता पक्षका सांसदहरूले सरकारले नीति तथा कार्यक्रम राम्रो रहेको दाबी गरेका छन् ।

नीति तथा कार्यक्रमाथि धारणा राख्दै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास जगाउन पूर्णतः असफल भएको टिप्पणी गरेका थिए ।

उनले सरकार महामारी नियन्त्रणका लागि काम गर्न पूर्णरूपमा असफल भएको आरोप लगाए। सरकारसँग जनताको पीडा बुझ्ने हृदय नभएको र जनताको दुःखप्रति कुनै संवेदना नभएको आरोप लगाउँदै सभापति देउवाले नीति तथा कार्यक्रममा कोरोना भाइरसले पारेको असरलाई सम्बोधन गर्न नसकेको बताएका थिए ।

उनले नेपालमा कोरोना संक्रमण देखिएको ४ महिना र लकडाउन गरेको ५५ दिन भइसक्दा पनि जम्मा २६ हजारको मात्र पीसीआर परीक्षण हुनु दुःखद रहेको बताउँदै यत्तिका दिनपछि पनि स्वास्थ्यकर्मीको सुरक्षा उपकरणलगायत आवश्यक सामग्रीको उपलब्धताको प्रत्याभूति नहुनु, भेन्टिलेटरलगायत अन्य उपचार सामग्रीको आवश्यक नहुनु सरकारको कमजोरी भएको बताए ।

विदेशमा लाखौं नेपाली कोरोना संक्रमणको जोखिममा रहेका र भारतको सीमावर्ती क्षेत्रमा धेरै अलपत्र रहेको भन्दै देउवाले उनीहरूलाई सुरक्षित तरिकाले घर फर्किने वातावरण बनाउन माग माग गरे । उनले नीति तथा कार्यक्रममा सरकार आत्मप्रशंसामा नै रमाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसअघिका दुई वर्षको आफ्नै नीति तथा कार्यक्रम पढ्न सुझाव दिएका थिए ।

कोरोना महामारीको बेलामा अत्यावश्यक सामग्री र औषधिसमेतमा भ्रष्टाचार भएको भनी प्रश्न उठ्नु, त्यसमा छानबिन हुनुको साटो प्रधानमन्त्री आफैं भ्रष्टाचारजन्य घटनाको बचाउमा उत्रिने र उन्मुक्ति दिने जस्ता घटनाले सुशासन र सदाचारको विषयमा सरकार पूर्ण असफल भएको देउवाको आरोप थियो ।

नेपाली भूमि अतिक्रमण खास गरी लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे नीति कार्यक्रममा उल्लेख भएको विषय सकारात्मक भए पनि अपूर्ण रहेको बताउँदै देउवाले नेपाली भू–भागमा भएको अतिक्रमण र सडक निर्माणबारे चीनसँग उच्चस्तरमा सार्थक र परिणामीमुखी वार्ता गरी समस्याको समाधान गर्नुपर्नेमा जोड दिए।

नीति तथा कार्यक्रमाथि भाग लिँदै नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दलहरूले सरकारको नीति तथा कार्यक्रमको आलोचना गर्दा यथार्थमा उभिएर छलफल गरी निष्कर्षमा पुग्दा राम्रो हुने बताए। उनले नीति तथा कार्यक्रम कोरोना केन्द्रित र वर्तमान समस्यालाई सम्बोधन गर्नमा नै केन्द्रित रहेको स्पष्ट पार्दै वर्तमान संकट सम्बन्धमा नीति निर्माणअघि पनि विभिन्न चरणमा छलफल भएको र सोहीअनुसार नै नीति कार्यक्रम आएको बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.