काठमाडौँ ६ असोज । प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
५४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले निष्पक्ष, स्वतन्त्र र मर्यादित पत्रकारिताका लागि प्रेस स्वतन्त्रताका पक्षमा अटल विश्वास र समर्पण सधैँ रहँदै आएको उनको भनाइ रहेको थियो ।
सो अबसरमा राष्ट्रपति पौडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्ने लोकतान्त्रिक व्यवस्थाका लागि आफ्नो जीवनको उर्वर समय जेल, नेल, यातना र अनेकौँ कष्टले बितेको बताए ।
प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन काउन्सिलले निष्पक्ष र स्वतन्त्र रहँदै सृजनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।
राष्ट्रपति पौडेलले सामाजिक सञ्जालको तिव्र विकास र प्रयोगसँगै नागरिकलाई दिग्भ्रमित पार्ने विषयवस्तुले कतिपय बेला अन्योल सृजना भइरहेको भन्ने गुनासो सरोकारवालाले गरेको पाइन्छ भनेका छन् । सामाजिक सञ्जालबाट सृजना हुने अन्योल समेत प्रेसजगले चिर्ने गरी सूचना प्रवाह गर्नुपर्ने दायित्व थपिएको बताएका छन ।
‘लोकतन्त्र भएका मुलुकमा पत्रकारितालाई चौथो अङ्गका रूपमा लिइन्छ, कुनै पनि मुलुकको लोकतन्त्र कति सुदृढ छ भन्ने विषय त्यस देशको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थाले निर्धारण गरेको हुन्छ’, उनले भने, ‘तसर्थ हाम्रो संविधानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण रूपले प्रत्याभूत गर्ने व्यवस्था गरिएको हो’।