काठमाडौं, माघ १२ : सरकारले २०४९ देखि सार्वजनिक स्थानमा धुम्रमान निषेध गरेको छ। सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने सूचना देखिने गरी नराखे सम्बन्धित निकायले समेत ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने ऐनमा व्यवस्था छ। त्यसैगरी शिक्षण संस्था, स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम र अनाथालयको सय मिटरभित्र बिक्री वितरण गर्न नपाइने व्यवस्था छ। ऐनले फुटकर चुरोटबिँडी बिक्रीलाई समेत प्रतिबन्ध गरेको छ। सार्वजनिक स्थलको सय मिटरवरिपरि र फुटकर बिक्री गरेमा १० हजार रुपैयाँ जरिवाना गर्नसक्ने प्रावधान छ।
ऐनले तोके अनुसार कात्तिक १८ देखि उत्पादकले चुरोट, बिँडी र खैनीको प्याकेटको बाहिरी भागमध्ये कम्तीमा ७५ प्रतिशत स्थानमा ‘सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ’ भन्नेजस्ता व्यहोरासहित स्वास्थ्य मन्त्रालयले तोकेअनुसार सेवनले भएका घातक असरको रंगिन चित्र प्रस्ट बुझ्ने र देख्नेगरी छाप्नुपर्ने प्रावधान छ। यस्तो चित्र नराखे ती कम्पनीले ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले त सन् २०१८ को अन्त्यसम्ममा काठमाडौंलाई धुम्रपान तथा सूर्तिजन्य पदार्थमुक्त शहर बनाउने घोषणा नै गरे। उनले आफ्नो घोषणालाई मुर्तरुप दिन विभिन्न योजना पनि बनाए। धुम्रपानमुक्त काठमाडौं बनाउने अभियान संचालन गर्न ब्लूम्बर्गले महानगरलाई १ करोड सहयोगसमेत गर्यो। तर, महानगरपालिकाको कार्यालयबाट करिब दुई सय मिटर उत्तरपट्टीको र वीर अस्पतालबाट एक सय मिटर दक्षिणपट्टीको सडक पेटीमा रहेका नाङ्लो चिया पसलहरुले खुल्याम चुरोट तथा सुर्तीजन्य पदार्थको खुल्याम बिक्रिवितरण गरिरहेका छन् भने ग्राहकले पनि त्यही बसेर तथा बाटो हिंड्दै गर्दा चुरोटको धुवाँको मुस्लो बेप्रवाह उडाइरहेका छन्।
सुर्तीजन्य पदार्थ विशेष चुरोटको धुम्रपान, निष्क्रिय धुम्रमान खार र धुँवाले बाटोमा हिड्ने र धुम्रपान नगर्नेहरू, गर्भवती महिला, शिशु, बालबालिका, किशोर किशोरी, युवायुवतीहरू, महिला र बृद्धबृद्धाहरू तथा नजिकै अस्पताल भएकोले विभिन्न रोगी तथा विरामीहरुको उच्च रक्तचाप, हृदयाघात, दम, खोकी, फोक्सोको क्यान्सर लगायत मस्तिष्कघात गराउने हुन्छ। गर्भवती महिलाहरूको गर्भपतन वा कम तौलको शिशु जन्मनुको अर्को कारक तत्व भनेको निष्क्रिय धुम्रपान नै हो । लोग्नेले गरेको धुम्रपानको कारणले पनि गर्भवती श्रीमतीको गर्भ तुहिने र कम तौलको बच्चा जन्मिने र धुम्रपानको धुँवा र खारले शिशु निस्सासिएर मर्नुको साथै दम लगायत स्वासप्रश्वास रोगले आक्रान्त हुने गर्दछन्। यसर्थ प्रत्यक्ष धुम्रपान, निष्क्रिय धुम्रपान र सुर्ती सेवनका कारणले प्रजनन् स्वास्थ्यमा पनि गम्भीर असर पार्दछ ।
पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ४८.४५ पुरुष र २८.७५ महिलाहरू धुम्रपान गर्दछन्। त्यस्तै १३ देखि १५ वर्ष उमेर पुगेका केटाहरू १४.५ प्रतिशत र केटीहरू ४ प्रतिशतले धुम्रपान गर्दछन्। साथै २.५ प्रतिशत केटाकेटीहरूले निःशुल्क रुपमै चुरोट कम्पनी र प्रतिनिधिहरूबाट चुरोट प्राप्त गरेको अर्को एक तथ्याङ्कले देखाएको छ । सुर्ती र धुम्रपानका कारण नेपालीहरूले आफ्नो आम्दानीको १० देखि १५ प्रतिशतसम्म धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनमा खर्च गर्दछन्। नेपालका बहुराष्ट्रिय चुरोट कम्पनीहरूले विज्ञापन, प्रबर्द्धन र प्रायोजनमा मात्र वर्षभरीमा कम्तिमा एक अरब खर्च गर्ने गरेको अनुमान छ। सो विज्ञापनहरू विशेषगरी युवायुवतीहरूलाई चुरोटको निकोटिनको कुलतमा फस्नमा र प्रोत्साहन गर्नमा केन्द्रित रहन्छ। साथै विज्ञापनहरूमा पनि विशेषगरी युवतीहरूलाई नै प्रयोग गरिन्छ। चुरोटको विज्ञापन, प्रायोजन र प्रबर्द्धनले निजी विद्यालय वा कलेजहरूमा पढ्ने धेरैजसो विद्यार्थीहरू चुरोटका कारण निकोटिनको कुलतमा फसिसकेका छन् ।

विकसित देशहरूमा चुरोटको खपत घट्दो छ भने विकासोन्मुख देश अथवा हाम्रो जस्तो संक्रमणकालमा रहेको देशमा चुरोटको व्यापक बजार प्रवर्द्धन गर्न बहुराष्ट्रिय चुरोट कम्पनीहरूले युवा र युवतीहरूलाई दीर्घकालीन उपभोक्ता बनाउन विज्ञापन र प्रायोजन प्रबर्द्धन गर्ने रणनीति नै बनेको पाइन्छ। चुरोट र सुर्तीमा ४,८०० भन्दा बढी विषालु रासायनिक तत्वहरू रहने र चुरोट खाएर निस्केको धुवाँमा ८७ प्रकारका विषालु रासायनिक पदार्थहरू रहने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भैसकेको छ। त्यस्ता विशाक्त रसायनिक पदार्थहरू स्वच्छ अक्सिजनयुक्त हावामा मिसिने र वरपर रहेका जो कोहीले पनि सो धुँवा थाहै नपाइकनै स्वास लिंदा स्वतः पिउने स्थिति हुन्छ। यसरी थाहै नपाइकन चुरोटको धुँवा र खार पिइरहेकाहरूलाई पनि धुम्रपान गर्नेहरूलाई जस्तै फोक्सोको क्यान्सर, हृदयसम्बन्धी रोगहरू, उच्चरक्तचाप जस्ता कडा रोगहरू भई अकालमै मृत्यु हुने गर्दछ ।
नेपालको प्रसँगमा धुम्रपानका कारण बर्षेनी करीव १५,००० भन्दा बढी मानिसहरूले धुम्रपानबाट ज्यान गुमाइरहेको भन्ने तथ्याकं देखिन्छ। मर्नेहरूमा धेरैजसो धुम्रपान र सुर्तीका अम्मलीहरू उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, क्यान्सर लगायत श्वासप्रश्वास, दम जस्ता जीर्ण रोगहरूबाट ग्रसित रहेको पाइएको छ।
त्यसकारण नियमविपरित सार्वजनिक स्थानमा धुम्रपान निषेधित क्षेत्र लेखिएकै ठाउँमा बसेर चुरोटको धुँवा उडाउनु भनेको कानुको धज्जी उडाउनु र आम जनताको स्वास्थ्यमाथस नै खेलबाड गर्नु हो। यसमा सम्बन्धित पक्षले नियमनको पाटोमा विशेष ध्यान दिन जरुरी छ। जनचेतना जगाउने र अनुगमलाई तिव्रता दिन आवश्यक छ। युवा पुस्ताको भविष्यप्रति राज्य र सरकार गम्भीर हुनु आजको प्रमुख दायित्व पनि हो । निति बन्ने र कार्यान्यवयन गर्न नसक्ने रोगले पनि यस्तो भइरहेको छ। तत्काल नितिको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ र आम नागरिक पनि सचेत हुन जरुरी छ।