निषेधाज्ञाले अर्थतन्त्र ठप्प, सेयर बजार निरन्तर उकालो

| 2021 May 28 | 08:10 am 1493

काठमाडौं, जेठ १४: विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट देश आक्रान्त छ। निषेधाज्ञाले अर्थतन्त्र ठप्प छ। राजनीतिक स्थिरता झन् भड्किएको छ। यस्तो अवस्थामा सेयर बजार भने निरन्तर उकालो लागिरहेको छ। बिहीबार मात्रै १५ अर्ब रुपैयाँको कारोबार भएको छ।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारका अनुसार आठ/नौवटा कारणले पछिल्लो समयमा निरन्तर सेयर बजार उर्लिएको हो। साथै, यसको भविष्य राम्रो भएकाले अझै निरन्तर बढ्ने उनको आँकलन छ।  कोभिडको समयमा सबै जना घरमा बसी अनलाइनबाट कारोबार गर्ने भएकाले सेयरबजारमा कोभिडको प्रभाव नपरेको अध्यक्ष रौनियारले बताए। उनका अनुसार ३६ लाखले डिम्याट खाता भरेका छन्।

त्यसमध्ये ६ लाखले अनलाइनबाट काम गर्छन्। विदेशबाट पनि लगानी भइरहेकाले पछिल्लो समयमा निरन्तर सेयर बजार माथि गइरहेको छ।  ‘गृहणीदेखि विद्यार्थीसम्म डिम्याट खोल्ने आईपीओ भर्दै विस्तारै सेकेन्डरी मार्केटमा जान्छन्’, उनले भने, ‘रेमिट्यान्ससमेत बढेकाले सेयर कारोबार बढ्न सघाउ पुगेको छ।’

नेपालमा मात्र नभई पुँजी बजार संसारमै बढेको छ। विश्लेषकहरूले अझ बढ्ने बताएका छन्। चौथो त्रैमासिकमा नाफा बढ्ने देखिएकाले बढी बोनस पाउने आशामा लगानीकर्ता हौसिएका छन्। सेयर किन्दा ९ महिनामा ब्याज तिरेको हुन्छ। एक क्वाटरको ब्याज तिरे १ वर्षको बोनस पाइने भएकाले पछिल्लो समयमा सेयर बजार कारोबार गर्ने बढेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकबाट

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.