निषेधाज्ञापछि राजस्व संकलन औसतमा आधा घट्याे

रिपोर्ट नेपाल | 2021 Jun 11 | 08:45 am 1325

काठमाडाैं, जेठ २८ः निषेधाज्ञापछि सरकारको राजस्व संकलन औसतमा आधा घटेको छ । निषेधाज्ञाअगाडि औसतमा प्रतिदिन साढे २ अर्ब राजस्व संकलन हुने गरेकोमा निषेधाज्ञापछि हाल औसतमा साढे १ अर्बभन्दा अलिकति मात्र बढी राजस्व संकलन हुने गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार निषेधाज्ञाको अवधिमा ७९ अर्बबराबरको राजस्व मात्र संकलन भएको छ । उपत्यकामा वैशाख १६ गतेदेखि भएको निषेधाज्ञाले राजस्व संकलनमा कमी ल्याएको तथ्यांकमा देखिन्छ ।

झन्डै २ सय ८५ दिनमा ७ खर्ब २२ अर्ब ८४ करोडको राजस्व संकलन भएकोमा पछिल्ला निषेधाज्ञाका ४२ दिनमा ७९ अर्ब २८ करोड ९२ लाख रुपैयाँ अर्थात् हरेक दिन १ अर्ब ८८ करोडबराबरको राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यसअघि भने हरेक दिन २ अर्ब ५३ करोडबराबरको राजस्व संकलन हुने गरेको थियो । यसरी हेर्दा निषेधाज्ञाले राजस्वमा हरेक दिन ६५ अर्बबराबरको संकुचन ल्याएको छ ।

सरकारले चालू आर्थिक वर्षमा १० खर्ब ११ अर्बको राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, बुधबारसम्म लक्ष्यको ७९.५१ प्रतिशत अर्थात् ८ खर्ब २ करोडबराबरको राजस्व संकलन भएको कार्यालयले जनाएको छ । निषेधाज्ञाअघि लक्ष्यभन्दा पनि बढी राजस्व संकलन भएकोमा त्यसपछि भने घटेको हो ।

अब लक्ष्यअनुसारको राजस्व संकलन गर्न हरेक दिन औसत्मा ६ अर्बबराबरको राजस्व संकलन गर्नुपर्ने देखिन्छ । तर, बजेटमा नै सरकारले ९४.८ प्रतिशत अर्थात् ९ खर्ब ६० अर्ब राजस्व संकलन गर्ने आकलन गरेको छ ।

निषेधाज्ञाअगाडिको औसत राजस्व संकलन हेर्दा ९ खर्ब ६० अर्ब उठ्न सक्ने आधार देखिए तापनि निषेधाज्ञामा सो लक्ष्य पनि पुग्न मुस्किल देखिन्छ ।

अघिल्लो आर्थिक वर्षमा पनि चैत ११ गतेदेखिको बन्दाबन्दीका कारण लक्ष्यअनुसारको राजस्व संकलन नहुँदा कर्मचारीहरूलाई तलब, भत्ता खुवाउने समस्या भएको थियो । तर, चालू आवमा भने त्यस्तो अवस्था नआउने पूर्व अर्थसचिव तथा अर्थविद् डा. शान्तराज सुवेदी बताउँछन् । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.