निर्वाचन आयोगले माग्यो ७ अर्ब

| 2021 Feb 04 | 08:08 am 2049

काठमाडाैं, माघ २२ः निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ माग गरेको छ । आयोगले बुधबार अर्थ मन्त्रालयलाई पत्र लेख्दै निर्वाचन तयारी एवं व्यवस्थापनका लागि बजेट माग गरेको हो । यसअघि आयोगले मंगलबार अर्थमन्त्री विष्णु पौडेलसँग बजेट व्यवस्थापनका विषयमा छलफल गरेको थियो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले कोभिड १९ को महामारीका बेला निर्वाचन व्यवस्थापन गर्नुपरेको हुँदा विगतका निर्वाचनमा भएको खर्चभन्दा मितव्ययी हुनेगरी बजेट निर्माण गरिएको बताए । आयोगले यसअघि अर्थ मन्त्रालयको समेत प्रतिनिधित्व हुनेगरी निर्वाचन व्यवस्थापनका लागि बजेट बनाउन समिति गठन गरेको थियो । समितिकै सिफारिसअनुसार निर्वाचनका लागि आयोगलाई आवश्यक पर्ने बजेट सरकारसँग माग गरिएको हो ।

‘निर्वाचन सञ्चालन एवं व्यवस्थापनसम्बन्धी आवश्यक न्यूनतम कार्यका लागि मात्रै बजेट माग गरिएको छ,’ आयोगका प्रवक्ता श्रेष्ठले भने, ‘विगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिकालगायतका विभिन्न उपकरण तथा सवारीसाधन मर्मत गरी प्रयोग गरिने भएकाले मतपेटिका, सवारीसाधन र उपकरण खरिद गरिनेछैन ।’

आयोगले निर्वाचनका क्रममा कोभिड १९ को सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने सुरक्षा व्यवस्थापनका लागि ३७ करोड ४१ लाख ७४ हजार प्रस्ताव गरेको छ । निर्वाचनको क्रममा ७७ वटै जिल्ला निर्वाचन कार्यालय, १ सय ६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी संख्यासमेत न्यूनतम रहने आयोगले जनाएको छ ।

आगामी निर्वाचनका लागि सरकारसँग मागिएको ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आयोगद्वारा निर्वाचनको तयारी एवं व्यवस्थापनका लागि मात्रै हो । यसअघि हरेक निर्वाचनमा चुनाव गराउन लाग्ने खर्च बढ्दै गए पनि यसपालि भने आयोगले माग गरेको बजेट कम छ । नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.