आयोगले यही साउन ११ गते ठाकुर र सोही दलका अर्का अध्यक्ष उपेन्द्र यावदबीच चलेको मुद्दाको छिनोफानो गर्न केन्द्रीय कार्यकारिणी समितिका सदस्यको बहुमत कसको पक्षमा छ भन्ने यकिन गर्न सनाखत गर्न लागेको हो । आयोगको सोही कार्य रोक्न अध्यक्ष ठाकुरले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरी अन्तरिम आदेशको माग गरेका हुन् ।
जसपा २०७७ साल वैशाख १० गते तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नामक दुई दल विलय भई बनेको थियो । आयोगले ती दुई दल मिल्दा बनेको केन्द्रीय समितिका सदस्यहरूको सनाखत गर्न खोजेको छ भने रिट निवेदनमा सो दलमा २०७८ साल असार ९ गते भएको हेरफेरबमोजिमका सदस्यहरूको सनाखत गराउनुपर्ने माग गरिएको छ ।
जसपामा ठाकुर र यादवबीच मतभेद उत्पन्न भई दुई गुट सिर्जना भएको हो । मतभेदकै बीच नेता यादवले आफूमा केन्द्रीय समितिका सदस्यहरू बढी रहेकाले पार्टीको नाम, झण्डा र आधिकारिकता आफूले पाउनुपर्ने माग गर्दै आयोगमा उजुरी दिनुभएको थियो । सो उजुरीको सम्बन्धमा ठाकुर पक्षले पनि लिखित जवाफ पेस गरिसकेको छ ।
सो विवादको निरूपण गर्नका लागि यही साउन ७ गते आयोगमा बहससमेत भएको थियो । सो बहसपछि आयोगले यही साउन ११ गते केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखत गराउन आदेश दिएको हो । आदेशमा आफ्नो नागरिकताको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ ।राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ४३ मादलको नाम, छाप, विधान, झण्डा वा चिह्न, पदाधिकारी, केन्द्रीय समिति वा सो समितिको निर्णयको आधिकारिकतामा विवाद आएमा त्यसको निरूपण निर्वाचन आयोगबाट हुने उल्लेख गरिएको छ ।
यसैबीच अदालतले आज आइतबार आधिकारिता विवाद सम्बन्धमा अन्तरिम आदेश दिएको अवस्थामा बाहेक पार्टीको आधिकारिता विवाद कार्यकारिणी समितिको सनाखत गराई टुंगो लगाउने प्रक्रियामा अघि बढ्ने प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनका अनुसार यस विषयमा अदालतले केही बोलेमा वा भनेमा सोहीअनुरूप हुने नभए आयोगको निर्धारित प्रक्रिया अघि बढ्नेछ ।
पार्टी एकतापछि बनेको ५१ सदस्यीय राष्ट्रिय कार्यकारिणी समितिमा अध्यक्ष यादव पक्षमा ३० जना रहेका छन् । महन्थ ठाकुरले भने गत पुस ७ गते बसेको केन्द्रीय कार्यकारिणी समितिले आफूलाई अधिकार दिएको भन्दै गत जेठ ३ गते केन्द्रीय कार्यकारिणी समितिमा सदस्यहरू हेरफेर गरेका थिए । ठाकुरले नयाँ कार्यकारिणी सदस्यहरूको बहुमत हेर्नुपर्ने बताएका छन् भने यादव पक्षले भने सो हेरफेर अवैधानिक रहेको दाबी गर्दै आएको छ । नेपाल समाचारपत्रबाट