निर्माण सामग्री चोर्ने एक अभियुक्तले नदीमा हामफाले पछि प्रहरीचौकीमा तोडफोड र हवाइफायर

रिपोर्ट नेपाल | 2018 Dec 19 | 05:48 pm 1747

विदुर, पुस ४ : नुवाकोटको किस्पाङ गाउँपालिका–५ शान्तिबजारमा रहेको जलविद्युत् आयोेजनाको निर्माण सामग्री चोर्दै गरेका एक अभियुक्त त्रिशूली नदीमा हामफालेका छन् ।

नुवाकोट र रसुवाको सिमाना मैलुङ शान्तिबजारमा निर्माणाधीन त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरिरहेको क्रममा पक्राउ परेका चारमध्ये एक युवक त्रिशूली नदीमा हामफालेको नुवाकोट प्रहरी कार्यालयले जनाएको छ ।

आज बिहान २ बजे सो आयोजनाको निर्माण सामग्री पाइप र फलाम चोरिरहेको क्रममा पक्राउ परेका रसुवाको उत्तरगया गाउँंपालिका वडा नं२ का १९वर्षीय मैते तामाङ प्रहरीको घेरा तोडेर त्रिशूली नदीमा हामफालेको किस्पाङका अध्यक्ष छत्रबहादुर लामाले बताए ।

नुवाकोट प्रहरीले समन्वयात्मक रुपमा कार्य गर्न नसकेको जनाउँंदै आज दिनभरि मैलुङक्षेत्र तनावग्रस्त भएको छ । प्रहरी र स्थानीयवासीबीच दोहोरो झडपको स्थिति थियो ।

स्थानीयवासी आक्रमण र तोडफोडमा उत्रिएपछि प्रहरीले सात राउण्ड हवाइफायर गर्नुपरेको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीबीच दोहोरो झडप हुँदा मैलुङ चौकीमा स्थानीयवासीले तोडफोड गरेको प्रहरीले जनाएको छ ।

झडपमा प्रहरीका हवल्दार चन्द्रिका भगत र अर्का एक जवान घाइते भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो । स्थानीयवासी र प्रहरीबीच वार्ता हुँदै गरेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.