काठमाडौँ, वैशाख २७ः निर्माण व्यवसायी महासङ्घले निषेधाज्ञाको अवधिलाई शून्य समय (कन्स्ट्रक्सन होलिडे) मानेर सबै आयोजनाको एकमुष्ट एक वर्ष म्याद थप्न आग्रह गरेको छ । कोरोना भाइरसको नयाँ प्रकारको सङ्क्रमणका कारण जारी निषेधाज्ञाले गर्दा निर्माण उद्योग आक्रान्त भएकाले निर्माण कार्य सबै बन्द गर्दै निर्णय मितिबाट लागू हुनेगरी चैतदेखि कात्तिक मसान्तसम्मको अवधिलाई शून्य समय मान्न महासङ्घले आग्रह गरेको हो ।
त्यसका लागि महासङ्घको प्रतिनिधि मण्डलले आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, सहरी विकासमन्त्री प्रभु साह तथा सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलाई बेग्लाबेग्लै भेट गरी उक्त माग गरेको हो ।
जवाफमा मन्त्रीद्वय र सचिवले महासङ्घबाट प्राप्त जानकारीलाई सीसीएमसीमा राख्ने प्रतिबद्धता जनाउँदै म्याद थप सम्बन्धमा आफूहरू सकारात्मक रहेको जानकारी दिएका थिए । महासङ्घका अनुसार महासङ्घका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधि मण्डलमा महासङ्घका महासचिव रोशन दाहाल र कार्यालय प्रमुख प्रेमसिंह ऐर रहेका थिए ।
प्रतिनिधि मण्डलले विकास निर्माण सम्बन्धमा सम्बन्धित आयोजनाहरूले आवासीय कामदार राखी निर्माण कार्य सञ्चालन गर्ने भनिए पनि श्रमिकहरू सङ्क्रमण सर्ने डर र त्रासका कारणले काम गर्न डराउने र भएका श्रमिक पनि आ–आफ्नो बासस्थानतर्फ हिँडिसकेको जनाएको छ । गाेरखापत्र दैनिकबाट