निर्माणाधीन हाइड्रोपावरले कर तिरेनन्

रिपोर्ट नेपाल | 2018 Aug 29 | 11:42 am 2495

पाँचथर, भदौ, १३ : पाँचथरमा निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरले राज्यलाई तिर्नुपर्ने कर अझसम्म तिरेका छैनन् । जि एन कन्स्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरले लगाएको कर ती हाइड्रोपावरले नतिरेका हुन् ।

जिससले खुलाएको बोलपत्र(टेण्डर) पारेर कर उठाउने जिम्मा पाएको जि एन कन्स्ट्रक्सनलाई कर नतिरेका हुन् । गत ०७४ असोज १ मा जिसस र उक्त कन्स्ट्रक्सनबीच भएको सम्झौतामा जिससले लगाएको ढुङ्गा, बालुवा, गिटी प्रयोग गरेबापतको तिर्नुपर्ने रकम अहिलेसम्म नतिरेको कन्स्ट्रक्सनका प्रोपाइटर शङ्कर थापाले बताए।

आफूहरूसँग सम्झौता हुनुपूर्व पनि हाइडोपावरले जिससलाई दिनुपर्ने बक्यौतासमेत दिनुपर्ने भए पनि त्यो नदिएको र अहिले ठेक्का सम्झौतापछिको करको रकमसमेत नदिएको उनले बताए।

जिल्लामा निर्माणाधीन अवस्थामा रहेका माउन्टेन हाइड्रोपावर कम्पनी, हेवा हाइड्रोपावर ए, काबेली हाइड्रोपावर बी, रैराङ हाइड्रोपावरले अझैसम्म बालुवा, गिटी र ढुङ्गाको स्थानीय कर नबुझाएको थापाले बताए । पटक–पटक ताकेता गर्दासमेत कर तिर्न आलटाल गरिरहेको उनको भनाइ छ ।

अब आगामी तीन दिनभित्र कर नबुझाएमा सम्पूर्ण काममा बाधा अवरोध पुर्‍याउन बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् । यता रैराङ हाइड्रोपावरका प्रबन्ध निर्देशक कुवेरमणि नेपालले कर तिर्ने हो, तर यसको संयन्त्रमार्फत् तिर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.