गोरखा, फागुन २१: निर्माणाधीन पुल ढल्दा गोरखामा तीन जना कामदार घाइते भएका छन्।
मर्स्याङ्दी नदीमाथि निर्माण भइरहेको मध्यपहाडी राजमार्ग अन्तर्गत गोरखाको पालुङटार र तनहुँ तुरतुरे जोड्ने पुल मंगलबार राति ढलेको छ।
उक्त पुल ढल्दा पुलको ढलान गर्न छड कसिरहेका तीन जना कामदार घाइते छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार दुई जना कामदारलाई स्थानीय मेडिकलमा र अर्का घाइते सुनिल चौधरीलाई उपचारका लागि काठमाडौं पठाइएको छ।
स्थानीय अस्पतालमा उपचाररत दुई जनाको अवस्था सामान्य छन्, काठमाडौं लगिएका सुनिल चौधरीको भने कम्मरमुनिको भागमा चोट लागेको एसपी अधिकारीले बताए।
४३ मिटर लम्बाइको उक्त पुल ढलानका लागि फर्मा टेकाएर छड बाँध्ने काम भइरहेका बेला एक्कासी पुल ढलेको हो। पुल ढलानका लागि तीन हजारभन्दा बढी टेका लगाइएको बताइएको छ।
एसपी अधिकारीका अनुसार टेका राम्रोसँग जमिनमा नअडेका कारण पुल ढलेको हुनसक्ने अनुमान गरेका छन् ।
उक्त पुल निर्माणको ठेक्का गौरी–पार्वती निर्माण सेवाले गरिरहेको थियो।