काठमाडौं, फागुन १० : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको सात महिना पुगेको छ।तर, अहिलेसम्म उनको वास्तविक हत्यारा पत्ता लागेको छैन।छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै झन्डै तीन महिनादेखि अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका आमाबाबुले धर्ना तोड्ने भएका छन्।नागरिक संघर्ष समितिको बैठकबाटै शुक्रबार १२ बजे निर्मलाका बाबु यज्ञराज र सौतेनी आमा लक्ष्मीले धर्ना तोड्ने भएका हुन्।
यसअघि दुईपटक बिरामी परेर त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार गराएर फर्किएका यज्ञराजको स्वास्थ्यमा पुनः खराबी आउन थालेपछि धर्ना स्थगित गरिन लागेको हो।निर्मलाकी सौतेनी आमा लक्ष्मीको स्वास्थ्य दिनप्रतिदिन बिग्रन थालेपछि श्रीमान्–श्रीमती उपचारका लागि काठमाडौं जाने भएका हुन्।
निर्मलाका बाबु यज्ञराजले आफ्नो र कान्छी श्रीमतीको स्वास्थ्योपचारका लागि काठमाडौं जानुपर्ने र धर्नामा बस्ने कोही नभएका कारण स्थगित गर्न लागिएको बताए।‘मलाई माघमै डाक्टरले चेकचाँजका लागि बोलाएका थिए,’ यज्ञराजले भने, ‘पैसा नभएका कारण जान सकिनँ ।’ आफूले सेवन गर्दै आएको औषधि पनि सकिएको उनले बताए।यज्ञराजकी कान्छी श्रीमती लक्ष्मीलाई टाउको दुख्ने, शरीर फुल्नेजस्ता समस्या देखिएको छ।लक्ष्मीले आफ्नो परिवारलाई सरकारले न्याय दिन आलटाल गरेको गुनासो गरिन्।काठमाडौंमा उपचार गराएपछि फर्केर पुनः आन्दोलन थाल्ने उनले जानकारी दिइन्।
प्रहरीले ४ भदौमा सार्वजनिक गरेका ४१ वर्षीय दिलीप विष्टको डिएनए नमिलेपछि घटनाले नयाँ मोड लिएको थियो।निर्दोषलाई फसाउन खोजिएको भन्दै भदौ पहिलो सातादेखि चलेको आन्दोलनमा १४ वर्षीय सन्नी खुनाको मृत्यु भएको थियो।यस्तै, महेन्द्रनगरका १९ वर्षीय अर्जुन भण्डारा, १७ वर्षीय उमेश देउवा, १६ वर्षीय चेतन भट्ट, ४१ वर्षीय चेतराज भट्टलगायत घाइते भएका थिए।भण्डाराको अहिले पनि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।प्रहरीले अनुसन्धानका लागि भन्दै २० जना बढीको डिएनए परीक्षण गरिसकेको छ, तर कसैको पनि मिलेन।
निर्मला हत्याबारे सरकारले सहसचिव हरि मैनालीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको थियो।प्रहरी प्रधान कार्यालयले प्रहरी अधिकारीबाट भएको कमीकमजोरी पत्ता लगाउन एआइजी धिरु बस्नेत नेतृत्वको छानबिन टोली गठन गरेको थियो।विभिन्न छानबिन टोली एवं समिति गठन हुँदा पनि निर्मला हत्याकाण्डको यथोचित प्रमाण फेला परेको छैन।अहिले पनि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सहित प्रदेश र स्थानीय प्रहरी टोली परिचालन गरिएका छन्।कञ्चनपुर प्रहरीका अनुसार निर्मला हत्याकाण्डको अनुसन्धान जारी छ।
राहत बुझ्ने विषयले परिवारमै विवाद
निर्मलाको परिवारलाई सरकारले १८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो।जुन विषयले परिवारमै विवाद सिर्जना गरेको थियो।निर्मलाकी आमा दुर्गाले प्रहरीलाई डिएनए परीक्षणका लागि रगतको नमुना दिएपछि र सरकारले घोषणा गरेको राहत बुझ्ने बताएपछि उनीमाथि श्रीमान् यज्ञराजले हातपात गरेका थिए।आफूमाथि कुटपिट भएपछि निर्मलाकी आमा दुर्गा धर्नास्थल आउनसमेत छाडेकी थिइन्।
उपचार गरेर फर्केपछि फेरि आन्दोलन थालिने
नागरिक संघर्ष समिति कञ्चनपुरकी संयोजक मीना भण्डारीको अध्यक्षतामा गत ३ फागुनमा बसेको बैठकले सरकारलाई ज्ञापनपत्र बुझाउँदै अनिश्चितकालीन धर्ना तोड्ने निर्णय गरेको थियो।निर्मलाका अभिभावककै आग्रहमा नागरिक समाजले धर्ना तोड्ने निर्णय गरेको प्रवक्ता नरबहादुर साउदले बताए।उनका अनुसार धर्नामा विभिन्न सामान खरिद गरेको २२ हजार तीन सय ४५ रुपैयाँ तिर्न आर्थिक संकलन गर्ने निर्णय भएको छ। कञ्चनपुरकी अधिकारकर्मी शारदा चन्दले सरकारले निर्मलाको परिवारलाई न्याय नदिएपछि धर्ना तोडेर उपचारका लागि काठमाडौं जाने र आएपछि फेरि आन्दोलन हुने बताइन्।‘सरकारले लाज पचायो, हामीले न्याय पाएनौँ,’ उनले भनिन्, ‘निर्मलाका अभिभावक उपचारका लागि जानेछन्।’