कञ्चनपुर, पुस ७ : निर्मला पन्त घटनाको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका भीमदत्त नगरपालिका १८ भगतपुरका विशाल चौधरीलाई शनिबार आफन्तको जिम्मा लगाइएको छ । बालबालिका समन्वय केन्द्रमार्फत विशाललाई महेन्द्रनगरमा आफन्तको जिम्मा लगाइएको हो ।
महानगरीय प्रहरी वृत्त काठमाडौंले शुक्रबार बालबालिका समन्वय केन्द्रको जिम्मा लगाएको हो । केन्द्रका कार्यक्रम सहायक सन्तोष चन्दले विशाललाई बुवा वीर बहादुरको जिम्मा लगाएका हुन् । ‘आज बिहान काठमाडौंबाट यहाँ पुगेका हौं’ चन्दले भने, ‘आफन्तको जिम्मा लगाउने काम सकिएको छ ।’
विशाललाई बुझ्न बुवा वीर बहादुरसँगै आमा सरमति पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेका थिए । उनीहरुसँगै महिला अधिकारकर्मी समेत त्यहाँ पुगेका थिए ।