काठमाडौं, पुस ११ : कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार–हत्या अनुसन्धानमा पक्राउ परेका कञ्चनपुरका अर्का युवा प्रदीप रावल पनि छुटेका छन्।महानगरीय प्रहरी वृत्त महाराजगञ्जको थुनामा रहेका रावल बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा थुनामुक्त भएका हुन्।
निर्मला बलात्कारमा संलग्न रहेको भन्दै प्रहरीले उनीमाथि अनुसन्धान गर्दै प्रहरीले केही सार्वजनिक अपराध कसुरमा मुद्दा अगाडि बढाएको थियो। उनलाई प्रशासनले साधारण तारेखमा रिहा गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।
अभद्र व्यवहारका विषयमा अनुसन्धान गर्न उनीमाथि म्याद थप गरिएको भए पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीमाथि निर्मला हत्या प्रकरणमा अनुसन्धान गरिरहेको थियो । उनीमाथि प्रहरीले ४ पटक म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो । उनलाई पक्राउ गरेपछि पहिलो पटक ७ दिन, त्यसपछि ३ पटक ५ दिन म्याद थप भएको थियो ।
उनले बयानमा निर्मलाको हत्यामा संलग्न भएको स्वीकारेको प्रहरीले दाबी गरेको थियो । रावलले साबिती बयान दिएको खबर पाएलगत्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वयम् पनि राति नै उनको बयान लिन सीआईबी पुगेका थिए ।
यसअघि रावलको बयानका आधारमा नियन्त्रणमा लिइएको भनिएको अर्का युवा विशाल चौधरी पनि छुटिसकेका छन् । उनले प्रहरीले धम्की दिएर आरोप स्वीकार्न लगाएको दाबी गरेका थिए ।