कञ्चनपुर, असोज १३: निर्मला पन्त हत्याका दोषी पत्ता लगाउन र उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा फेरि आन्दोलन शुरु भएको छ ।
उच्चस्तरीय छानबिन समितिले गृहमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै स्थानीय महिलाहरु शनिबारदेखि धर्नामा बसेका हुन् । ‘प्रतिवेदन सार्वजनिकसँगै अपराधी पत्ता लगाउन गम्भीर हुनुपर्छ’ नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले भनिन्, ‘अब हामी चरणबद्ध रुपमा आन्दोलनमा उत्रिएका छौं ।’
समितिको आयोजनामा स्थानीय महिलाहरु महेन्द्रनगर बजारको मदन चोकमा धर्नामा बसेका हुन् । धर्ना बिहान ९ देखि ५ बजेसम्म चल्यो ।
यसैगरी, आन्दोलनमै रहेका महिलाहरुले दबाबमूलक संघर्ष समिति गठन गरेर थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने तयारी गरेका छन् । शनिबार यही विषयमा सरोकारवालासँग छलफल पनि गरिएको छ ।