निर्मला हत्या प्रकरणका छानविन समितिका सदस्य केसीमाथि आक्रमण

| 2018 Sep 30 | 06:32 pm 1944

धनगढी,  १४ असोज : कञ्चनपुरकी निर्मला पन्त हत्या घटनाको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्र केसीमाथि कैलालीमा आक्रमण भएको छ। काठमाडौंबाट आज कैलाली आएका केसीमाथि धनगढीतर्फ आउँदै गर्दा बोराडाडीमा आक्रमण भएको हो।

केसी प्रदेश ७ को कानुन मन्त्रालयको बा १ झ ९७०३ नम्बरको गाडीमा धनगढीतर्फ आउँदै थिए। त्यहीँ क्रममा मोटर साइकलमा आएका दुई जनाले बेराडाडीमा उनी सवार गाडीमा पछाडीबाट ढुंगा प्रहार गरेका थिए। ढुंगा केसीको टाउको लागेको छ।

ढुंगा प्रहार गरेको आरोपमा सातजनालाई प्रहरीले पक्राउ गरेको छ । घटनापछि उनीहरुलाई धनगढीका विभिन्न स्थानबाट पक्राउ गरिएको कैलालीका एसपी बिनोद घिमिरेले जानकारी दिए ।

ढुंगा प्रहारबाट गाडीको पछाडिको सिसा फुटेको छ भने सिसाको टुक्रा लागेर केसीको टाउकोमा सामान्य चोट लागेको छ । गाडीमा केसी सहित एक जना कानुन अधिकृत र चालक थिए ।

यसअघि केसीले पत्रकार सम्मेलन गरेर निर्मला पन्त हत्या घटनाको छानबिन गर्ने क्रममा आफ्नो हत्या हुन सक्ने भन्दै जीवनरक्षाको माग गरेका थिए । उनले छानबिन समितिबाट राजीनामा दिएको घोषणा पनि गरेका थिए । त्यसको केहीदिनपछि गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर केसीले राजीनामा फिर्ता लिएको जानकारी गराएका थिए ।

उक्त समितिले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । तर प्रतिवेदन सार्वजनिक भएको छैन । तर एसपी घिमिरेले केसीमाथि नियोजित आक्रमण नभइ राजधानी विवादको आन्दोलनका क्रममा धनगढी बन्द गरेका आन्दोलनकारीहरुले सरकारी गाडीमा क्षति पुगाउन खोजेको बताए ।

धनगढीबाट राजधानी कैलालीकै गोदावरी सार्ने निर्णयको विरोधमा धनगढीमा आम हड्ताल घाेषणा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.