निर्मला हत्याकाण्ड र सुन प्रकरणबारे पछिल्लो जानकारी दिन मानेनन् गृहमन्त्री

रिपोर्ट नेपाल | 2018 Nov 18 | 04:03 pm 2608

  • रुद्रदेव पाण्डे

काठमाडौं, म‌ंसिर २ :  गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको अनुसन्धानबारे र साढे  ३३ किलाे सुन प्रकरणबारे जानकारी दिन अश्वीकार गरेका छन्। आइतबार भएको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठका सांसदहरुले निर्मला प्रकरण र सुन काण्डबारे उठाएका विषयमा जानकारी दिन अश्वीकार गरेका हुन्।

बैठकमा कांग्रेस सांसदहरुले निर्मला प्रकरणबारे प्रश्न उठाउदा नागरिता विधेयकलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफलमा निर्मलाको विषयमा जानकारी दिन उपयुक्त नभएको भन्दै गृहमन्त्रीले थप जानकारी दिन अश्वीकार गरेका हुन्। उनले भने, ‘निर्मला र सुन तथा ठेकेदारका विषयमा कुरा उठेको छ। यी आजका विषय होइनन्। भविष्यमा यी विषयमा स्पष्ट पारौँला ।’

निर्मला पन्तको अनुसन्धानबारे सांसद प्रेम सुवालले निर्मला पन्तको बलात्कापछि  हत्या, साढे ३३ किलाे सनु र  कामचोर ठेकेदारकाे बारेमा  प्रश्न उठाएका थिए । त्यसैगरी, कांग्रेस सांसद एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले पनि निर्मला हत्याबारे के भइरहेको छ भनेर प्रश्न गरेका थिए।समिति सभापति शशि श्रेष्ठले निर्मलाको प्रकरणमा अनुसन्धान कहाँ पुग्यो भन्ने जान्न पाउनुपर्ने र पीडकलाई के कारबाही हुन्छ भन्ने जवाफ मागिने बताइन्। उनले यो विषयमा छलफल र जवाफ माग्न अर्को दिन गृहमन्त्रीलाई बोलाउन बैठक आव्हान हुने बताइन्।

बैठकमा गृहमन्त्री थापा नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको भन्दै यस विषयमा सरकार संवेदनशील रहेको बताए । राज्य व्यवस्था समितिमा नेपाल नागरिकतासम्बन्धी विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने ‘नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको पनि देखेका छौं । त्यसकारण यसमा संवेदनशील हुनुपर्नेछ’ । मन्त्री थापाले कति विदेशीले नेपाली नागरिकता लिएका छन् भन्ने विषयमा छानबिन हुने बताए । लाखौं विदेशीलाई नागरिकता वितरण गरिएको र त्यसमा ठूलो आर्थिक चलखेल भएको भन्दै उनले विदेशीले लिएको नागरिकताबारे छानबिन हुने बताएका हुन् ।

अङ्गीकृत नागरिकताका कारण राष्ट्रियतामाथि असर पर्ने हुनाले यसलाई ठीक ढंगले हल गर्न सकिएन भने राष्ट्रियतामा नै खतरा पार्ने मन्त्री थापाले बताए । ‘राष्ट्रिय अखण्डतामाथि असर पर्ने कुराहरु छन् । अङ्गीकृत नागरिकता वितरणमा ध्यान दिइएन भने राष्ट्रियतामाथि नै खतरा हुन्छ’ उनले भने । गृहमन्त्री थापाले अब जन्मको आधारमा नागरिकता नदिइने बताए । ‘बंशजको आधारमा नागरिकता, अङ्गीकृत नागरिकता, गैरआवासीय नागरिकता छन् । जन्मको आधारमा नागरिकता त्यो खारेज गरिएको छ’ उनले भने अङ्गीकृत नागरिकता दिने व्यवस्थालाई संशोधन आवश्यक छ ।

समितिका सदस्यहरुले विदेशिले नागरिकता पाएको विषयमा गृहमन्त्रीको धारणा मागेका थिए । सांसद प्रेम सुवालले ४० लाख विदेशीले नेपाली नागरिकता लिन सफल भएको भनेर भारतीय प्राध्यापकले आफ्नो पुस्तकमा लेखेको दावी गरे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.