काठमाडौं, असोज २२ : कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई सार्वजनिक गरी कडा कारबाहीको माग गर्दै काठमाडौंमा सरकारविरुद्ध प्रर्दशन गरिएको छ । युवा नर्स सञ्जालले निर्मलाको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै सोमबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध थाल ठटाएर प्रर्दशन गरेको हो ।

प्रदर्शनकारीहरुले निर्मला हत्या प्रकरणका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै चर्का नाराबाजी समेत गरेका थिए । प्रदर्शकारीहरुले ‘सरकार कहाँ चुक्दैँ छ । बलात्कारी कहाँ लुक्दैँ छ’ भन्ने मुल नाराकासाथ प्रर्दशन गरेका छन् ।

युवा संघ सञ्जालको संयोजक गीता बरालले सभालाई सम्बोधन गर्दै दुई तिहाइको दम्भ भएको सरकारले महिलाहरुमाथि भएको हिंसाले गर्दा महिलाहरुको शिर झुकाएको बताइन् । मुलुककै ध्यान कञ्चनपुरमा केन्द्रित हुनुका साथै सबैतिर निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै विरोध एवं दवाव कार्यक्रमहरू भइरहेछ ।
गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।