काठमाडौं, भदौ ४ : कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ मा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् ।
घटना भएको २४ दिनपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थानीय ४१ वर्षीय दीलिप सिंह विष्टलाई पक्राउ गरेको हो ।
गत साउन १० गते घरबाट निस्केर साथीको घर पढ्न गएकी निर्मला साइकलमा फर्किँदा बाटोमा चेन बिग्रेको र चेन बनाइदिने निहुँमा दीलिपले बलात्कार गरेको ब्युरोको निष्कर्ष छ ।
ब्युरोको अनुसार बलात्कारको प्रतिकारमा निर्मलाले चिच्याउँदा पोल खुल्ने डरले दीलिपले घाटी थिचेर हत्या गरेको अनुसन्धानको क्रममा दीलिपले बताएक थिए ।
साथीको घरमा पढेर फर्केकी निर्मलाको शव भीमदत्त नगरपालिकाको वडा नम्बर १८ र २ को सिमानामा पर्ने निम्बुखेडा खोलाको पुर्व उत्तर तर्फको उखुबारीमा फेला परेको थियो ।