काठमाडौँ, मंसिर २३ : नेपाल महिला सङ्घले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा ‘बादल’को राजीनामा माग गरेको छ । आइतबार काठमाडौँमा नेपाल महिला सङ्घले पत्रकार सम्मेलन गरेर निर्मलाको हत्यारा पत्ता लगाउन वर्तमान सरकार असफल भएको दाबी गर्दै गृहमन्त्री थापाको राजीनामा माग गरेको हो ।
कार्यक्रममा संघकी महासचिव तथा राष्ट्रिय सभाकी सदस्य धना खतिवडाले नक्कली अभियुक्त खडा गरेर निर्मला पन्तका वास्तविक हत्यारालाई सरकारले उन्मुक्ति दिन खोजेको आरोप लगाएकी छिन् । सांसद खतिवडाले भनिन्,‘गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारालाई सरकारले उन्मुक्ति दिन खोज्दै छ, पटक–पटक नक्कली अभियुक्त खडा गरेर सरकार असली हत्यारालाई जोगाउन लागेको छ, यस्तो घृणित र खेदजनक कार्यप्रति नेपाल महिला सङ्घ घोर भर्त्सना गर्दछ ।’

निर्मला पन्तको हत्या सामान्य खानदानको मानिसले नगरेको पनि उनको दाबी छ । खतिवडाले भनिन्,‘निर्मलाको हत्या सामान्य खानदानको मान्छेले गरेको होइन भन्ने कुरा आम नागरिकले महसुस गरिसकेका छन्, अहिले खडा गरिएका अभियुक्तका बयान र निर्मला पन्तको पोस्टमार्टम रिपोर्टले फरक सत्य बताएको छ, यस्तो नाटक गरेर जनता र गरिबहरूमाथि दुई तिहाइ नेकपाको सरकारले खेलबाड गरिहेको छ, के यसरी समृद्ध र सुखी नेपाली बन्छन् ? म सोध्न चाहन्छु यस्तो विषम परिस्थितिमा पनि गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ कि पर्दैनन् ? नेपाल सनातन धर्मको ऐतिहासिक पृष्ठभूमिको देश भएको भन्दै सांसद खतिवडाले भनिन्,‘व्यक्ति जुनसुकै कार्यक्रम र सभामा सहभागी हुन पाउँछ तर सरकार नै विवादित धार्मिक संस्थाको आयोजक बन्नु कहाँसम्मको जायज हो ? यो आम नेपाली जनताको भावना र संविधान हित विपरीत कार्य हो, सरकारको यस रवैयाप्रति महिला सङ्घले आपत्ति जनाउँछ, ।’
महिला हिंसाविरुद्ध १६ दिने राष्ट्रिय अभियान जारी रहेको बताउँदै खतिवडाले अघि थपिन्,‘असल मानिस केही नगरी बस्नु भनेको खराब मानिसको नियत सफल हुनु हो’ राज्यले महिलाहरुकोबारेमा अधिकार दिएको छ, तर व्यवहारमा महिलाहरूले अधिकार पाएका छैनन्, कानुन फितलो छ, बलात्कार, दण्डहिनता चरम पराकाष्ठा छ, अर्कोतर्फ मूल्य वृद्धि, कालोबजारी, भ्रष्टाचार मौलाएको छ, तीन तहको स्थानीय सरकार भएर पनि जनताले विधिको शासन र कानुनी राजको महसुस गर्न पाएनन्, देशको विकास र समृद्धि भाषणमा सीमित छ ।’