निर्मलाका हत्याका दोषी पक्राउको माग गर्दै कञ्चनपुर बन्द

| 2018 Oct 02 | 11:52 am 3420

कञ्‍चनपुर, असोज १६: कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधी पक्राउ नपरेको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले कञ्चनपुर बन्द गराएको छ ।

हत्याको ६८ दिन वित्दापनि हत्यारा पक्राउ नपरेको भन्दै हत्यारा पक्राउ गर्नुपर्ने, अनुसन्धानका क्रममा प्रमाण मेटाउने प्रहरी अधिकृतहरुलाई कारबाही हुनुपर्ने लगायतका मागहरु राखेर नेविसंघ कञ्चनपुरले एकदिने जिल्ला बन्द गरेको हो ।

नबन्दका कारण बिहानैदेखि कञ्चनपुर जिल्लाको जनजीवन प्रभावित बनेको छ । बजार, व्यवसाय, कलकारखाना, उद्योगधन्दा, शिक्षणसंस्था बन्द छन् । यातायातका साधनहरुचलेका छैनन् ।

लामोदूरीबाट आएका सवारी साधनहरुलाई भने सदरमुकाम प्रवेश गर्न दिइएको भएपनि महेन्द्रनगरबाट छुट्ने लामो तथा छोटो दूरीका सबै सवारी साधनसञ्चालनमा रोक लगाइएको छ ।

बन्दकर्ता नेविसंघका कार्यकर्ता सडकमा भेला हुन थालेका छन् । उनीहरु फाट्ट फुट्ट रुपमा खुलेका केही पसलसमेत बन्द गराउँदै हिडेका छन् । विभिन्न चोकहरुमा बिहानैदेखि टायर बालेर प्रदर्शन सुरु गरिएको छ ।

नेविसंघका केन्द्रीय सदस्य कैलाश चन्दले निर्मला पन्तको बलात्कार र हत्या घटनाको अहिलेसम्म पनि प्रहरीले अपराधी पक्रन नसकेको र अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने प्रहरीका अधिकृतहरु समेतलाई कारबाही गर्न भन्दै एकदिने कञ्चनपुर बन्द गरिएको बताए।

सोमबार नेविसंघले जिल्लाका शैक्षिक संस्थाहरु बन्द गराएको थियो । चरणवद्ध आन्दोलनको घोषणा गरेको नेविसंघले आफ्ना आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

हत्यारा पत्ता लगाउन, अनुसन्धानका क्रममा प्रमाण मेटाउने काम गरेको आरोप लागेका प्रहरी अधिकृतहरुलाई कारबाही गर्न तथा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले गृहमन्त्रालयमा बुझाएको प्रतिवेदन रिपोर्ट सार्वजनिक गर्न माग राखेर विभिन्न संघसंस्था, अधिकारकर्मीहरु समेत निरन्तर रुपमा आन्दोलनमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.