निर्मलाका लागि न्याय माग्दै सुरु गरिएको धर्नामा डा. केसीको ऐक्यबद्धता

| 2018 Dec 03 | 03:37 pm 1602

कञ्चनपुर, मंसिर १७  :  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वषिय बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै सुरु गरिएको धर्नामा प्रा.डा. गोबिन्द केसीले ऐक्यबद्धता जनाएका छन्। निर्मला पन्तको परिवार र अधिकारकर्मी लगायतले सुरु गरेको अनिश्चितकालिन धर्नामा केसीले मंगलवार कञ्चनपुर धर्ना स्थलमै पुगेर ऐक्यवद्धता जनाएका हुन ।

सोमबार मात्रै काठमाण्डौमा पत्रकार सम्मेलन गरेर तिन हप्तासम्म निर्मलाका हत्यारा पक्राउ नगरे अनसन बस्ने चेतावनी दिएका केसी मंगलवार महेन्द्रनगर पगेका हुन।मानसिक समस्यापछि निर्मलाका बुबा यज्ञराजलाई उपचारका लागि काठमाण्डौ लगिएको छ भने उनकी आमा दुर्गादेवी पनि काठमाण्डौमै छन । धर्नास्थलमा निर्मलाकी कान्छि आमा लक्ष्मीलगायत अनिश्चितकालीन २४ घण्टै धर्नामै छन्।

उनीहरुलाई भेट्दै केसीले निर्मलाको न्यायको लागि आफु महेन्द्रनगर पुगेको बताए। केसीले सरकारले नै निर्मलाका हत्यारालाई लुकाएको आरोप लगाउदै तत्काल हत्यारा सार्वजनिक गर्नुपर्ने माग गरे।

कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे चार महिनाभन्दा बढी भइसकेकाे छ, तर अहिलेसम्म पनि अपराधीको पहिचान हुन सकेको छैन । निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै दिनहुँ प्रर्दशन हुने गरेका छन् ।

अाइतबार पनि निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै देशका विभिन्न ठाँउमा प्रदर्शन भयाे । बागलुङमा निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै महिलाहरु सडकमै सुतेका छन् । नेपाली कांग्रेसनिकट नेपाल महिला संघको अगुवाईमा सदरमुकामस्थित बाघचोकमा भेला भएका झण्डै दुई सय महिला सडकमै सुतेका हुन् ।

चिसो भूइँमा झण्डै एकघण्टा सुतेका महिलाले निर्मला पन्तको फोटोसहितको व्यानर छातीमा टाँसेका थिए। सबै महिलाले टाउकोमा कालोपट्टीसमेत बाँधेर विरोध गरेका थिए। ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने नारा लेखिएको ब्यानर र पोस्टर लिएर उनीहरुले दोषीलाई पक्राउ गर्न माग गरेका थिए।

सडकमै सुत्ने कार्यक्रममा ७० वर्षीयादेखि १५ वर्षीया किशोरीहरु पुगेका थिए। उनीहरुको मागको समर्थनमा कांग्रेससहितका अन्य राजनीतिक दलका नेता, नेपाल ट्रेड युनियन कांग्रेसका पदाधिकारी, कार्यकर्ता, अधिकारकर्मी तथा नेविसंघका कार्यकर्ता सहभागी थिए। उनीहरुको विरोधले सडकको आवागमन अवरुद्ध भएको थियो।

त्यस्तै अाइतबार नै निर्मला पन्तको हत्यारालाई सार्वजनिक गरी कारबाहीको माग गर्दै विप्लव नेतृत्वको नेकपाले कञ्चनपुरमा विरोध प्रर्शन गर्याे । निर्मलाको हत्यारालाई सरकारले नै संरक्षण गरेको भन्दै विप्लव समूहले तत्काल कारबाही गर्न माग गरेका छन् ।

निर्मलाको हत्या भएको ४ महिना वितिसक्दा समेत सरकारले कुनै पनि अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै उनीहरुले सरकारको विरोध गरेका हुन् । घटनामा सरकारी पक्षकै संलग्नता रहेको भन्दै विप्लव माअाेवादीले महाकाली संयोजक वीरेन्द्र शाहीले हत्यारलाई तत्काल कारबाही गरिनुपर्ने बताए । विरोध प्रर्दशनमा विद्यार्थी, राजनीतिक दल, नागरिक संर्घष समिति, अधिकारकर्मी लगायतले ऐक्यबद्धता जनाएका थिए ।

गत साउन १० गते ‘होमवर्क’ गर्न साथीको घर गएकी कञ्चनपुर भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.