निर्मलाका बाबु भन्छन्, ‘मुलुकमा सरकार छ भन्‍नेमा पनि शंका लाग्‍न थालिसक्यो’

| 2018 Sep 27 | 07:43 am 1980

फाइल तस्बिर

काठमाडौं, असोज ११: आज साउन ११ गते। दुर्इ महिनाअघि आजकै दिन कञ्‍चनपुरको भिमदत्तनगरपालिका-२ उल्टाखामस्थित उखुबारीमा निर्मला पन्त मृत भेटिइन्। १० गते पढ्‍नभन्दै साथीको घरमा गएकी निर्मला दोस्रोदिन बिहान उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव भेटिएपछि प्रहरीले घरपरिवारका सदस्यको उपस्थिति बिना नै मुचुल्का गर्‍यो। उनको शरिरमा भएका लुगाहरु पखालेर जलाउने काम गरियो।

यसबीचमा निर्मला पन्तका बलात्कारी र हत्यारालार्इ कारबाहीको माग गर्दै देशभर आन्दोलन भए। न्यायको भिख माग्दै निर्मलाका बाबुआमा कञ्‍चनपुरदेखि काठमाडौंसम्म आए। गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलार्इ भेटे तर सबैले दोषीलार्इ कारबाही गर्ने आश्‍वासन दिए। अहिलेसम्म दोषी पत्ता लाग्‍न सकेको छैन।

प्रधानमन्त्रीले घटनाको विषयमा एक टेलिभिजन कार्यक्रममा सफेद झुट बोले। निर्मलाका बाबुले बालुवाटार भेटका क्रममा त्यो झुट हो भन्दै घटनाका बारेमा सत्‍यतथ्‍य जानकारी गराउन खोज्दा ‘सबै मलार्इ था’छ। समय छैन’ भन्दै प्रधानमन्त्रीले टारे। यसरी प्रधानमन्त्री नै गैरजिम्मेवार र आफ्नो कुरासम्म नसुनेकोमा निर्मलाका बाबुले निराश भए। उनी दोस्रो दिन नै कञ्‍चनपुर फर्किए।

घटनाका सत्‍यतथ्य छानबिन गर्न माग गर्दै कञ्‍चनपुरमा स्थानीय आन्दोलित भए। आन्दोलन दबाउन प्रहरीले गोली चलायो। प्रहरीको गोली लागेर एक बालक सन्‍नी खुनाको निधन भयो भने ६ जना अझै घाइते छन्।

यसबीचमा मानसिक सन्तुलन गुमेका दिलिपसिंह विस्टलार्इ दोष कबुल गराउन २५ दिनसम्म यातना दिइयो। तर, डिएनएको रिपोर्टपछि विस्ट निर्दोष देखिए र रिहा भए। विस्टसँगै अन्य ८-१० जनालार्इ प्रहरीले घटनाको दोष कबुल गराउन नियन्त्रणमा लिने र यातना दिने काम गर्‍यो।

दुर्इ महिनाको अवधिमा चारवटा प्रहरीका र एक गृहमन्त्रालयले गठन गरेको अनुसन्धान टोली घटनास्थलमा खटिए। सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्‍वमा गठन भएको छानविन समितिले मंगलबार प्रतिवेदन गृहमन्‍त्रालयमा बुझायो।

प्रतिवेदन पाएको दोस्रो दिन बुधबार गृहमन्त्रीले एक राज खोले । ११ साउनमा गरिएको मुचुल्कामा निर्मलाका बाबुको औंठा छाप लगाइएको छ। जब की निर्मलाका बाबु १२ गते मात्रै नपाल पुगेका थिए।

निर्मलाका बाबुले भने, ‘म साउन ११ गते भारतमा थिएँ। घटना ११ गते घट्‍यो सोही दिन मुचुल्का गरियो। तर, ‘सोही दिनको मुचुल्कामा मेरो औंठा छाप भनिएको छ।’ उनले थपे, ‘छोरीको हत्या भएको ८-१० दिनपछि मात्रै हामीलाई जिल्ला प्रहरी कार्यालय बोलाइयो । त्यहाँ मेरी श्रीमती, म र मेरो भतिजा लक्ष्मीप्रसाद पन्तलाई मुचुल्कामा होइन, अरू नै कागजमा सहीछाप गराइयो । तर के, कसो, केही भनिएन । औंठा छाप पनि गराएका थिए।’

यसरी हेर्दा प्रहरीको नियतमा नै शंका गर्ने थुप्रै ठाउँहरु छन्। घटनाको प्रारम्भिक अनुसन्धानमा संलग्‍न छ जना प्रहरी अधिकारीसहित सिडिओलार्इ निलम्बन गरी अनुसन्धान थालिएको बताइएको छ।

निर्मलाका बाबु भन्छन्, ‘ अब त न्याय पाइन्छ भन्‍ने आश नै मरिसक्यो। मलार्इ लाग्छ यो देशमा सरकार पनि छ भन्‍नेमा शंका लाग्‍न थालेको छ। सरकार भएको भए त घटनाका विषयमा यति धेरै कुराहरु प्रष्ट हुँदाहुँदा पनि सरकार छानबिन समितिमात्रै गठन गर्ने तर कारबाही नगर्ने भनेको के हो ? राज्यले न्याय दिन सकेन । न्याय माग्न कति दिन सडकमा जाने ? छोरी सम्झेर र देशको परिस्थिति देखेर रुन मन लाग्छ।’

गृहमन्त्रीले नै गैरजिम्मवार रुपमा दोषिलार्इ यहि मितिमा कारबाही हुन्छ भनेर भन्‍नलार्इ गृहमन्‍त्रालय र प्रहरी ज्योतिष नभएको जवाफ दिन्छन्। प्रहरीको विषयमा आलोचना नगर्न समेत उनले निर्देशन दिएका छन्। निर्मलाका बाबुले न्याय देख्‍ने दिन कहिले आउँछ ?

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.