बाँके, माघ २ : आफ्नो मोस्ट वान्टेड सूचीका एक व्यक्तिलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ । बाँके र बर्दियाको सीमा क्षेत्रमा प्रहरी युवराज गिरीलाई घाइते बनाएर पक्राउ गरेको हाे ।
प्रहरीको खोजीको सूचीमा रहेका युवराज गिरीलाई पिछा गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।
यसअघि २६ माघमा बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको विभत्स हत्या भएको थियो । घटनामा संलग्न भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाट पक्राउ गरिसकेको थियो ।
गिरी र भरत शाहीले केही समयअघि बाँके कोहलपुरका दिपक सिंहको खुकुरी हानी हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि उनीहरु दुवै जना फरार थिए । शाहीलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो भने गिरीलाई पक्राउ गर्न जाने क्रममा भागेपछि गोली चलाउनु परेको बाँके प्रहरीले जनाएको छ ।
बाँकेका डीएसपी रमेश सिंहको कमाण्डमा रहेको प्रहरी टोलीले गोली चलाएको थियो । प्रहरीका अनुसार गिरी र शाहीले सिंहलाई प्रहरीको असई बनाई दिन्छु भन्दै डेढ लाख रकम लिएका थिए । असई बनाउन नसकेपछि रकम फिर्ता माग्ने क्रममा विवाद हुँदा खुकुरी हानी हत्या गरेको प्रहरीले जनाएको छ ।