काठमाडौँ फाल्गुन ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी जेठभित्रै निर्वाचन आयोगले चुनाव गराउनुपर्ने बताएका छन् । सरकारले वैशाखमै चुनाव हुने दाबी गर्दै आए पनि निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कार्यक्रम अगाडि नबढाउनुले आयोगप्रति शंका गर्नुपर्ने अवस्था आएको देउवाको भनाइ छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार रुपन्देहीको भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयोग चुनाव गराउन तयार छ कि छैन भनी प्रश्न गर्नुभएको हो ।
नेकपाको झगडाले कांग्रेस पार्टीभित्रसमेत असर गरेको बताउँदै कांग्रेसलाई नेकपाको झगडाको रमिता हेर्नु छैन भनेका छन। सुर्य चिह्न नपाए ओलीले चुनाव नगराउने देउवाको आशंका छ ।
अदालतमा विचाराधीन मुद्दामा नेपाली कांग्रेसले यही गर भन्न नमिल्ने बताउँदै उनले अदालतको निर्णय कांग्रेसले शिरोधार्य गर्ने बताए ।
‘निर्वाचन आयोगले किन अहिलेसम्म निर्वाचन कार्यक्रम बाहिर निकाल्दैन? चुनाव नगराउने हो भने भन्नुपर्यो चुनाव गराउँदिनँ भनेर। चुनाव गराउने हो भने निर्वाचनको प्रक्रिया सुरू गरेकै छैन‚’ सभापति देउवाले भने‚ ‘कुनै पनि संसदको विघटन भएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्छ।’