निधि स्मृति पुरस्कार पत्रकार दाहाल लगायत तीन जनालाई दिइने

रिपोर्ट नेपाल | 2021 Feb 10 | 11:11 am 2781

काठमाडौं, माघ २८ः अहिंसा, शान्ति, समुदायका बीच सद्भाव, सामाजिक न्याय र लोकतन्त्रका अथक योद्धा महेन्द्रनारायण निधिको स्मृति सम्मानमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा स्थापित महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार २०७६ बाट लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा विगत ६ दशकदेखि निरन्तर सक्रिय होमनाथ दाहाल र ०७७ सालको सो पुरस्कार करीव पाँच दशकदेखि भाषा, साहित्य, संस्कृति तथा अभिव्यक्ति स्वतन्त्रताका लागि नियमित साधनारत डा. रामदयाल राकेशलाई प्रदान गर्ने निर्णय भएको छ ।

यसैगरी प्रेमसागरीदेवी निधिको सम्मानमा स्थापित प्रेमसागरीदेवी निधि पुरस्कार २०७६ बाट नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर क्रियाशील रहनु भएका ज्ञानु प्रसाई र ०७७ को सो पुरस्कार काशीदेवी झालाई प्रदान गर्ने निर्णय भएको छ । दुवै पुरस्कारको राशी एक÷एक लाख रहेको छ ।

पुरस्कार चयनका लागि डा. विमल कोइरालाको संयोजकत्वमा डा. दिनेश भट्टराई, डा. कुमार कोइराला, दुर्गा घिमिरे र प्रा. नवेन्द्र निधि रहनु भएको समितिको माघ २४ मा वसेको वैठकले गरेको चयन अनुरुप महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले उल्लिखित व्यक्तित्वहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार निधिको एकसयौं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा आगामी फागुन १४ गते प्रदान गरिने छ ।

निधिको एक सयौं जन्म जयन्तीका अवसरमा आगामी फागुन १२ गते विचार गोष्ठी गरिने जनाइएको छ । यसैगरी १३ गते महेन्द्रनारायण निधिको स्मृतिमा निर्मित महेन्द्रनारायण निधि अस्पतालको भवन र निधिको स्मारकको अनावरण समेत गर्ने कार्यक्रम रहेको छ । ०६८ सालदेखि सञ्चालित अस्पतालको सय वेड क्षमताको आफ्नै नवनिर्मित भवन वसुन्धारामा रहेको छ ।

नेपालको इतिहासमा मधेस तराई समुदायबाट राजनीति सुरु गरी राष्ट्रिय व्यक्तित्व वन्न सफल निधिको यो स्मारक चुरे पहाड भन्दा माथिल्लो भागमा पहिलो मधेसी समुदायको स्मृति स्मारक हुने छ । वि.स. १९७८ फागुन १३ मा जनकपुरको नगराइनमा जन्मेका निधिको पार्थिव अवशान २०५६ सालमा भएको थियो । ०५८ सालमा भानुभक्त ढकालको अध्यक्षतामा स्थापित महेन्द्रनारायण स्मृति प्रतिष्ठानले चेतनामूलक, सेवामूलक र विकासमूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । प्रतिष्ठानको संरक्षक निधिका छोरा विमलेन्द्र निधि रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.