निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न युवा तथा विद्यार्थीको माग

रिपोर्ट नेपाल | 2018 Jul 22 | 06:49 pm 1662

काठमाडौँ, साउन ६ : युवा तथा विद्यार्थी संगठनले निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई राष्ट्रियकरण वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गर्न माग गरेका छन् ।

युवा संघ नेपाल, वाइसिएल, अनेरास्ववियु र अनेरास्ववियु ९क्रान्तिकारी०को आज बसेको बैठकले नेपालको संविधानको प्रस्तावनामा उल्लेखित समाजवाद उन्मुख व्यवस्थाको मर्म एवं शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकका रुपमा गरिएको संवैधानिक सुनिश्चितको प्रावधानअनुसार निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई अविलम्ब राष्ट्रियकरण वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गर्न माग गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

बैठकले सबै प्रदेशमा एक सुविधा सम्पन्न सरकारी शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अविलम्ब शुरु गर्न, चिकित्सा शिक्षाभित्रको छात्रवृत्तिलाई न्यून आय, गरीब र लक्षित समुदाय आधारित बनाई त्यसलाई पारदर्शी ढंगले वितरण गर्न माग गरेका छन् ।

यस्तैगरी आधारभूत तहका जनताको जीवनसँग खेलबाड गर्दै स्वास्थ्य जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा बन्द, हड्ताल गर्न पूर्णरुपमा प्रतिबन्ध लगाउनुपर्ने, जनताको करबाट उठेको तलब भत्ता खाई जनतालाई निर्वाध सेवा नदिने अधिकारीलाई तत्काल कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।

उनका अनुसार बैठकले स्वास्थ्य शिक्षामा देखिएका सबै समस्या दीर्घकालीन ढंगले समाधान गर्नका लागि उच्चस्तरीय चिकित्सा शिक्षा आयोग गठन गरी अविलम्ब काम सञ्चालन गर्नसमेत माग गर्दै चिकित्सा शिक्षालगायतका जल्दाबल्दा समस्याको समाधानका लागि जनताको लोकप्रिय ‘म्याण्डेट’ पाएको सार्वभौमसत्ता सम्पन्न संसद्लाई छलफल र निकासको साझा थलो बनाउनुपर्ने उल्लेख गरेको छ ।

बैठकले राष्ट्रिय चिकित्सा आयोगबाट नै समस्या निरोपण हुने भएकाले जारी डा गोविन्द केसीको अनशन वार्ताबाट तत्काल अन्त्य गर्दै डा केसीको आन्दोलनमा भएको राजनीतिक घुसपैठ, अराजकता र दण्डहीनताको तत्काल अन्त्यको समेत माग गरेको छ ।

बैठकले अनेकन प्रलोभनमा पारी मुलुक बाहिर विद्यार्थी पठाउँदै आएका नेम र भाइब्रेन्टजस्ता इन्स्टिच्युटलाई छानबिन गरी कडा कारबाही गर्न माग गरेका छन् । बैठकमा वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघ, नेपालका अध्यक्ष रमेश पौडेल, अनेरास्ववियुका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङको सहभागिता थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.