निजी अस्पतालले चर्को शुल्क असुलेर उपचार गर्नुको साटो कमाउ धन्दामा

| 2021 May 07 | 08:01 am 2117

काठमाडौं, बैशाख २४: उपभोक्ता अधिकारकर्मीले कोरोना संक्रमित बिरामीबाट निजी अस्पतालले चर्को शुल्क असुलेर कानुन उल्लंघन गरेको बताएका छन्। अस्पतालहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत न्यून सेवाशुल्क निर्धारण गरी बिरामीको उपचार गर्नुको साटो ‘कमाउ धन्दा’ बनाएको उनीहरूको टिप्पणी छ।

‘महामारीको अवस्थामा अस्पतालहरूले आफूखुसी शुल्क निर्धारण गर्नु भनेको बिरामीको ज्यानसँग खेलवाड गर्नु सरह हो’, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भने, ‘यस्ता अस्पताललाई तत्कालै कानुनी दायरामा ल्याएर कडा कारबाही गर्नुपर्छ।’

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अस्पतालले आफूखुसी शुल्क तोकेर बिरामीमाथि क्रूरता प्रदर्शन गरेको बताए। उपचारका नाममा चर्को शुल्क निर्धारण गरी अस्पतालले कोभिडका बिरामीलाई मृत्युको दोसाँधमा पुर्‍याएको अध्यक्ष महर्जनको भनाइ छ।

‘बिरामी निको हुनुको साटो शुल्ककै कारण मृत्युको दोसाँधमा पुग्ने अवस्था बनाइएको छ’, महर्जनले भने, ‘अस्पतालहरूले बिरामीमाथि निकृष्ट कार्यका साथै जघन्य अपराध गरेका छन्। यस्ता अस्पताललाई कुनै पनि शर्तमा छुट दिनुहुन्न।’

नेपालको संविधानले जनताको स्वास्थ्यको अधिकारलाई प्रत्याभूति गरेको छ। यसका साथै उपभोक्ता संरक्षण ऐन, हस्पिटल एक्रिडिएसन ऐन, कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन तथा फौजदारी अपराध संहिताको इलाज गर्नेको महल आकर्षित गरी विभिन्न प्रकारको कारबाही गर्न सकिने अवस्था छ।

ह्याम्स अस्पताल र काठमाडौं मेडिकल कलेजले चर्को शुल्क निर्धारण गरेका छन्। उपत्यकाका अन्य र जिल्लाका अस्पतालले पनि यही अवस्था बनाएका छन्। सकेसम्म कम शुल्कमा बिरामीको गुणस्तरीय उपचार गर्नुको साटो अस्पतालले कमाउ धन्दा बनाएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.