नारायणीकलीले छावा जन्माएपछि…

रिपोर्ट नेपाल | 2021 May 04 | 09:11 am 1989

चितवन, बैशाख २१: चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्रमै जन्मिएकी हुन्, ‘नारायणीकली’। तिनै हात्तीले सोमबार बिहान २ बजे बच्चा पाउँदा प्रजनन् केन्द्रका कर्मचारी खुसी भए। त्यसमा पनि सबैभन्दा बढी खुसी भए, सुकराम महतो। महतोले स्याहार गर्ने जिम्मेवारी सम्हालेका थिए। सन्तानजस्तै गरी पालेको हात्तीले स्वस्थ बच्चा जन्माएपछि उनी हर्षित भएका हुन्।

‘खुसी लागेको छ। साह्रै माया गरेर हुर्काएको हात्तीले बच्चा पाएको छ’, महतोले भने, ‘जन्मिएपछि नाइटो झर्ने बेला डर थियो हावा पस्छ कि भनेर। त्यस्तो भएन, ढुक्क भयो।’

नवजात छावाको शरीरको छाला रातो–रातो थियो। छावा माउको वरिपरि घुस्रिँदै थियो। दूध चुस्न पनि जानेको थिएन। घरी अघि घरी पछि गर्दै आमाको ममतामा रमाउँदै थियो। नारायणीकली बच्चालाई सुमसुम्याउँदै थिइन्। सुँडको छाला कलिलो थियो। हिँड्न मेसो नपाएर लड्न खोज्दा सुसारेले सिकाउँथे।

तीन कर्मचारी सुत्केरी हात्ती स्याहार्न खटिएका छन्। उनीहरूले नारायणीकलीलाई पोषणयुक्त खाना तयार गरेर खुवाए। चना, मुसुरोको दाल, जुवानो, मुङ्ग्रेलो, चामल, भेली मिसाएर खीर खुवाएका हुन्। त्यस्तै १५ किलो धान, डेढ किलो भेली, २५ ग्राम नुन राखेर कुची बनाएर खुवाए।

हात्तीको बच्चा पूर्णरूपमा स्वस्थ रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.