नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्ष भाडामा दिने तयारी

| 2019 Nov 03 | 09:07 am 2046

काठमाडौं, कात्तिक १७: नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई ड्रिङ्क्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गर्ने तयारी भएको छ। देशभरका ऐतिहासिक र पुरातात्विक संग्रहालयलाई संरक्षण गर्ने जिम्मेवारी लिएको संस्कृति मन्त्रालय र त्यसअन्तर्गतको पुरातत्व विभागमा दशकौं लामो इतिहास बोकेको नारायणहीटी र त्यसमा खोलिएको संग्रहालयलाई भाडामा दिने तयारी भएपछि कर्मचारीले आपत्ति जनाउन थालेका छन्।

गत असोज ३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र पुरातत्व विभागका कामु महानिर्देशक दामोदर गौतमसहितको टोलीले संग्रहालय अवलोकन गर्दै संग्रहालयको लमजुङ कक्षमा रहेको डाइनिङ हल भाडामा दिने गरी छलफल गर्न निर्देशन दिएका थिए। अवलोकन गर्दै मन्त्री भट्टराईले हाल अवलोकन गर्नेबाहेक संग्रहालयको संरचना कामविहीन अवस्थामा रहेको सो कक्षलाई नेपाल भ्रमण वर्ष सन् २०२० को शुरुआतमै खोल्ने गरी तयारी गर्न निर्देशन दिएका थिए।

९० सिट भएको डाइनिङ हल अत्याधुनिक छ। राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रले विदेशी पाहुनालाई सोही हलमा रात्रिभोज दिने व्यवस्था थियो। नेपालका राष्ट्रप्रमुखको हैसियतले राष्ट्रप्रमुखले ड्रिङ्स टोस्ट गरेपछि सो हलमा पार्टी सञ्चालन हुने गरेको थियो। पछिल्लो समय होटल सोल्टीबाट सो हलमा खानेकुरा ल्याउने र सर्भ गर्ने गरिन्थ्यो। तर अहिले शाहकालीन ऐतिहासिक हललाई शुल्क तिरेर खान मिल्ने गरी खोल्ने तयारी गरिएको छ। –संग्रहालयका एक कर्मचारीले भने।

अवलोकन भ्रमण गर्दा ती अधिकारीले डाइनिङ हलमा राखिएको सामग्रीसमेत परिवर्तन गर्न आग्रह गरिएको थियो। अधिकांश सामग्रीमा शाही निशाना अंकित चिह्न राखिएको छ। शाही चिह्न अंकित मेचको चिह्न तत्काल हटाएर कुर्सी प्रयोग गर्न सुझाइएको थियो। तर, कर्मचारीले ऐतिहासिक संग्रहालयमा रहेको कुर्सीको चिह्न हटाउन नहुने बताएका थिए।

मन्त्री भट्टराईले लमजुङ कक्ष मात्र नभई तत्कालीन राजा वीरेन्द्रले सार्क सम्मेलनमा आएका राष्ट्रप्रमुखलाई पार्टी खुवाउन मिल्ने गरी निर्माण भएको फोहरा बगैंचा पनि पार्टी सञ्चालन गर्नुपर्ने तर्क राखेका थिए। दिउँसो बगैंचा र राति लमजुङ कक्षमा पार्टी गर्न मिल्ने सुझाव मन्त्रीले दिएका छन् ।

मन्त्री, सचिव र विभागका कामु महानिर्देशकको टोलीले नारायणहिटी संग्रहालय अवलोकन गरेपछि असोज ५ गते सांग्रिला होटलको व्यवस्थापकसहितको टोली संग्रहालयको लमजुङ कक्षको अवलोकन गर्न पुगेको थियो। होटलको सेफसहितको टोलीले भ्रमण वर्षमै व्यवस्थापन गर्ने तयारी भइरहेको बताए। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.