नारायणगढ- मुग्लिन सडक: पहिरो रोक्न गरिएको ‘रक बोल्टिङ’ प्रभावकारी

रिपोर्ट नेपाल | 2018 Jun 30 | 12:11 pm 3686

चितवन, असार १६: नारायणगढ–मुग्लिन सडकको पहिरो रोक्नका लागि गरिएका काम प्रभावकारी देखिएका छन् ।

सडक विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिममा रहेका ठाउँमा पहिरो रोक्नका लागि चैत अन्तिम सातादेखि काम थालिएको थियो । जुन ठाउँमा काम गरिएका छन् ती ठाउँमा हालसम्म पहिरो खसेको छैन ।

पहिरो रोक्नका लागि दुई वटा ढुंगा जोड्ने रक बोल्टिङ, चट्टान झर्न नदिन संरचना निर्माण गर्ने, ग्याभिन जाली लगाएर पहिरो रोक्ने रक नेटिङ, ढिस्को मिलाउने स्लोप ट्रिमिङ, भित्तोमा कुलो बनाएर पानी तर्काउने फ्रेन्स ड्रेन, बायोइञ्जिनियरिङ लगायतका काम अन्तिम चरणमा पुर्‍याइएको छ । नारायणगढ–मुग्लिन सडकको परामर्शदाता कम्पनीका सहायक आवासीय इन्जिनियर ज्ञानेन्द्र घिमिरेका अनुसार सडकका २५ स्थानमा पहिरो रोक्ने काम थालिएकामा अब तीन ठाउँमा मात्र बाँकी रहेको छ । बाइस स्थानमा काम सम्पन्न भएको उनले बताए।

घिमिरेका अनुसार काम सम्पन भएका ठाउँमा पहिरो खसेको छैन । कालीखोला, टोपेखोला र मुग्लिन नजिकैको भागमा काम भइरहेको छ । समग्रमा ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

न्यू टेक्निकल हाई हिमालय हिम सगरमाथाले आँपटारीदेखि चोरखोलासम्म र चोरखोलादेखि मुग्लिनसम्म न्यू टेक्निकल हाई हिमालयले रु १४ करोडमा पहिरो रोक्ने कामको ठेक्का लिएको थियो । ठेक्काभित्र सो सडकको भालुढुङ्गाको पहिरो रोक्ने काम परेको भए पनि पछि यो प्रविधिबाट सम्भव नदेखिएपछि सो ठाउँ घटाइएको थियो ।

हाल पहिरो खसिरहेको चार किलो र नजिकैको टोपेखोललाई पनि यो ठेक्काभित्र पारिएको छैन । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार विसुरालले पहिरो रोक्न काम गरिएका ठाउँमा पहिरो नखसेको बताए । एक ठाउँमा केहीमाथिबाट पहिरो खसेको भए पनि संरचना निर्माण गरिएका ठाउँमा पहिरो नखसेको बताए। हाल पहिरो खसिरहेका मुख्य दुई ठाउँमा खुकुलो माटो बगिरहेकाले यो ठेक्काभित्र नपारिएको उनले बताए।

सो सडकको ३३.२ किलोमिटर सडकमध्ये १७.१ किलोमिटरमा सडक विस्तारका लागि भित्तो काटिएको छ । ती ठाउँमा चट्टान, साना ढुंगा, माटोको ढिस्को, गेग्र्यान खस्न सक्ने उच्च जोखिम देखिएपछि पहिरो रोक्न ठेक्काको काम दिइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.