नागरिकता छानविन आयोग गठन गर्ने सरकारको प्रस्ताव काँग्रेसद्वारा अस्वीकार

रिपोर्ट नेपाल | 2019 Jan 27 | 03:38 pm 1991

काठमाडौँ, माघ १३ :  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ‘नागरिकता छानविन गर्न आयोग गठन गर्न कानुनी व्यवस्था गर्ने’ सरकारको प्रस्ताव अस्वीकार गरिदिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद भरतकुमार शाहले नागरिकता छानविन गर्न आयोग गठन गर्न कानुनी व्यवस्था गर्ने सरकारको प्रस्ताव स्वीकार्य नहुने अडान राखेका हुन् ।

आईतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले जन्मको आधारमा नागरिकता लिएकाहरुको छानविन गर्न आयोग गठन गर्ने प्रावधान राखिएकोमा आपत्ति समेत जनाए । सांसद शाहले नागरिकतासम्बन्धि विषयमा छानविन गर्न आयोग गठन गर्ने अधिकार सरकारलाई रहेको उल्लेख गर्दै त्यसलाई कानुनमै उल्लेख गर्न भने आवश्यक नरहेको तर्क गरे ।

उनले सरकारले आफूसँग अधिकार हुँदाहुँदै पनि नागरिकता छानविनका लागि आयोग गठन गर्ने कानुनी प्रावधान राख्न खोजेकाले त्यसलाई स्विकार गर्न नसकिने पनि स्पष्ट पारे । समितिका अर्का सदस्य एवम् राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारले नागरिकता छानविनको विषयमा आयोग गठन गर्ने कानुनी व्यवस्था गर्ने प्रस्ताव ल्याएकोमा आपत्ति जनाए । उनले सरकारलाई विदेशी नागरिकसँग विवाह नै नगर्ने प्रस्ताव ल्याउन पनि चेतावनी दिए ।

विधेयकमा नागरिकता छानवीनका लागि आयोगनै गठन गर्ने प्रावधान राखिएको छ । तर त्यसप्रति प्रमुख प्रतिपक्ष दल काँग्रेसको आपत्ति छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.