नागरिकको लगानीमा दुई विशाल परियोजना बनाउँदै पाकिस्तान

| 2018 Oct 06 | 12:13 pm 1513

चन्दा उठाएर साना र समान्य काम भएको त आम मानिसलाई थाहा छ, तर चन्दा उठाएरै ठूला ठूला परियोजना निर्माण गरिएको इतिहास संसारमा नै एकदमै कम रहेको छ । पछिल्लो पटक पाकिस्तानका प्रधानमन्त्री इमरान खानले स्वदेशी लगानीमा नै ५३०० मेगावाट क्षमताका आयोजना निर्माणका लागि चन्दा उठाउन थालेका छन् । पछिल्ला केही वर्षदेखि पाकिस्तानले चरम ऊर्जा संकट भोग्दै आएको छ ।

दैनिक १२ घन्टा काटिने बिजुलीको कारण जनजीवन प्रभावित हुँदै आएको छ । निर्माणमा रहेका केही आयोजनामा चरम वेथिती र भ्रष्टाचार व्याप्त छ । राजनीतिक र क्षेत्रीय स्वार्थका कारण परियोजनाहरुमा समस्या परेका छन् । बर्षेनी बढीरहेको लगानी औद्योगिक क्षेत्रमा भएको विकासका कारण पनि ऊर्जाको माग बढ्दै गएको छ । ्तर, समस्या घट्नुको साटो बढ्न थालेपछि नवनिर्वाचित सरकारले नयाँ उपाय निकालेको छ । त्यो हो राष्ट्रिय रुपमा चन्दा अभियान चलाउने र वृहद परियोजनालाई सार्थक बनाउने ।

पाकिस्तानमा कूल ऊर्जाको औसत माग १७ हजार मेगावाट रहेको छ । कूल जडित क्षमता २५ हजार मेगावाट भएपनि ऊर्जाको चरम संकट रहेको छ ।
इमरान खान प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले केही राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छन् । विलाशी सवारी साधानको बिक्री वितरण, कर प्रशासनमा सुधार तथा नागरिककै जीवनशैलीका प्रधानमन्त्री रहने र जनतालाई केही आर्कषक र व्यवहारिक रुपमा सुधारात्मक अभियानबाट प्रधानमन्त्री खान पछिल्लो दिनमा चर्चित बनेका छन्।

पाकिस्तानलाई आर्थिक रुपमा सबल बनाउन र आन्तरिक लगानीबाट नै केही ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने मान्यताको विकास गर्न सरकारले नै प्रयास गरेको छ । विदेशी दातृ निकाय पनि केही ठूला परियोजनामा लगानी गर्न इच्छुक छन् । तर दातृ निकायको ऋणका कारण पाकिस्तानको अर्थतन्त्र धरापमा परेको भन्दै नवनिर्वाचित सरकारले केही नयाँ घोषणा गरेको छ । त्यो हो ‘राष्ट्रिय चन्दा अभियान, देशका लागि पाकिस्तानको विकासका लागि’ ।
जनताका लागि सरकार छ, सरकार जनताका लागि हो, भन्ने विश्वास दिलाउने लक्ष्यका साथ राष्ट्रिय अभियान शुरु गरिएको पाकिस्तानका प्रधानन्याधीश साकिब निसारले जानकारी दिएका छन् ।

ठूला परियोजनामा नागरिकको सहभागिता होओस् भन्ने मान्यताको विकासका लागि पनि पाकिस्तानमा चन्दा संकलन अभियानको अभ्यास गरिएको हो । जनताको विकास निर्माणको चाहना र राष्ट्रिय आवश्यकता परिपूर्तिका लागि नागरिकलाई नै विकास निर्माणको काममा प्रत्यक्ष सहभागिता गराउन लागिएको निसारलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चन्दा उठाएर नै आयोजना निर्माण गर्न लागेको पाकिस्तान भने पहिलो देश होइन, यसअघि इथोपियाले पनि चन्दा जस्तै गरी आर्थिक सहयोग संकलन गरेर केही मझौला परियोजना अगाडि बढाएको थियो । टेलिफोन कलमा सुरु गरिएको अभियानले सो देशमा समेत सार्थकता पाएको छ । तर पाकिस्तानले भने देशभित्रै १२।४ अर्ब डलर रकम जुटाउने अभियान सुरु गरेको छ । त्यो भनेको नेपाली मुद्रामा परिवर्तन गर्दा १२ खर्ब ४० अर्ब भन्दा बढी हुन जान्छ ।

पाकिस्तानमा दुई बाँध बनाउन त्यहाँका प्रधानमन्त्री इमरान खानले चन्दा संकलन अभियान थालेको र त्यसका लागि धमाधम पैसा संकलन सुरु हुन थालेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । उत्तरी पाकिस्तानमा ४५०० मेगावाट क्षमताको दायमर बासा बाँध र अर्को ८०० मेगावाट क्षमताको मोहम्मद बाँध निर्माण गरिनेछ । करिब ३० हजार करोड रुपैयाँ लागतमा मोहम्मदको काम २०१२ देखि जारी छ । तर आर्थिक अनियमितता र भ्रष्टाचारका कारण आयोजननाको सोचेजति प्रगति हुन सकेको छैन । सवा लाख करोड रुपैयाँ लागत रहने ठानिएको दायमर बासाको काम लगानीको अभावमा हालसम्म सुरु हुन सकेको छैन ।

पाकिस्तानका आर्थिक मामलाका जानकार खुर्म हुसैनका अनुसार सरकारले नै परियोजना जिम्मा लिएकाले चन्दा अभियान सफलताको दिशामा अगाडि बढेको छ । धेरै नागरिक उत्साहित भएका छन् । बाँध बनाउन धेरै पैसा आवश्यकता पर्ने भएपछि तीब्र गतिमा अभियान थालिएको हो ।

यसका लागि स्टेट बैंक अफ पाकिस्तानमा ‘सुप्रिम कोर्ट अफ पाकिस्तान डायमर बासा र मोहन्द ड्याम फण्ड’ खाता खोलिएको छ । ६ अक्टोबर, २०१८सम्म सो खातामा चार अर्ब ५८ करोड ७१ लाख बढी रकम संकलन भइसकेको छ ।

पाकिस्तानका अधिकांश सञ्चार माध्यमले प्रधानमन्त्री इमरानको पछिल्लो प्रयासलाई सकारात्मक भन्दै समाचार सम्प्रेषण गरेका छन् । विशाल बाँध बनाउन सरकारसँग पैसा अभाव भएपछि खानले चन्दा अभियान थालेका हुन्, यो महत्वपूर्ण अभियान हो, यसलाई सहयोग गरौ भन्दै पाकिस्तानी नागरिकले खुसी व्यक्त गरेका छन् ।

ती ठूला परियोजनाका लागि पाकिस्तानका प्रधानन्याधीश साकिब निसारले प्रधानमन्त्री खानलाई सहयोग गर्नुपर्ने बताउँदै अभियानको नेतृत्वमा रहेर काम गर्ने बताउनु भएको छ । सो अभियानलाई प्रधानमन्त्री– प्रधानन्यायाधीश कोष नाम दिइएको छ ।

(विभिन्न एजेन्सीको सहयोगमा)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.