नागढुङ्गामा फोहोरमैला व्यवस्थापन र ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल | 2022 Aug 15 | 06:41 pm 1789

काठमाडाैं, साउन ३०ः नागढुङ्गामा ट्राफिक सचेतनामूलक र फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्यक्रम साेमबार सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको संयोजकत्व र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सवारी साधनमा जथाभावी फोहोर नगरौँ, सवारी साधनबाट जथाभावि फोहोर नफालौँ, सवारी साधनमा फोहोर दानी अनिवार्य राखौँ, नो हर्न लगायत विविध चेतनामूलक सन्देश लेखिएका १७ हजार थान स्टिकर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक चौधरीलाई हस्तान्तरण गरेका थिए ।

साथै चन्द्रागिरि नगरपालिका प्रमुख र उपप्रमुखले सडक बढारेर सफा राख्नका लागि आह्वान समेत गरेका थिए । चन्द्रागिरि नगरपालिकाको आयोजना तथा ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाको समन्वयमा नागढुंगामा आज बिहान साढे ७ बजे सुरु भएको कार्यक्रममा नेपाली सेना, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, यातायात व्यवसायी र चन्द्रागिरि नगरक्षेत्रमा कार्यरत सामुदायिक तथा निजी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.